काठमाडौं – प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन् । उनले आजै पद तथा गोपनीयताको सपथ लिँदै सानो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
प्रदेश १ मा नयाँ सरकार गठन हुने चर्चासँगै मन्त्रीहुने आकांक्षी पनि धेरै देखिएका छन् । पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठन भएपछि अन्य प्रमुख दलले प्रमुख मन्त्रालय आफूले पाउँनुपर्ने दावी गरिरहेका छन् ।
प्रदेश १ मा मुख्यमन्त्रीमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित सात मन्त्रालय रहेको छ । गठबन्धनमा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मोर्चा रहेका छन् । कांग्रेस र माओवादी केन्द्रले बढीमा दुई–दुई मन्त्रालय पाउँने सम्भावना छ । ठूला दलका हैसियतमा उनीहरुले बढीमा दुई मन्त्रालय र अन्य साना दलले एक–एक मन्त्रालय पाउँन सक्ने छन् ।
गठबन्धनमा रहेका एक सांसदका अनुसार मन्त्रालयको भागबण्डा तथा मन्त्री हुनेको नामावली टुंगो लगाउँन नेताहरु आन्तरिक गृहकार्यमा छन् । केही सांसद मन्त्रीका लागि दौडधुपमा रहेका छन् ।
कुन दलबाट को हुदैछन् मन्त्री ?
प्रदेश १ मा गठबन्धनको सरकार बन्ने निश्चित भएपछि सांसदहरु मन्त्री बन्न शक्तिकेन्द्र धाइरहेका छन् । कांग्रेसबाट राजीव कोइराला, हिमाल कार्की, केदार कार्की, शान्ता पौडेल, शिवनारायण गनगाईं, सूयर्मा राज राई‚ बिन्दिया कार्की, ओमप्रकाश सरावगी, प्रकाशप्रताप हाङ्गाम र शेखरचन्द्र थापा लगायतका सांसद मन्त्री बन्ने दौडधुपमा रहेका छन् ।
सुरुमा कांग्रेसले मुख्यमन्त्री दावी गर्दै आएको थियो । तर मुख्यमन्त्री राजेन्द्र राई बन्ने भएपछि कांग्रेसले प्रमुख मन्त्रालय आफ्नो भागमा पार्न खोजेको छ । साथै पार्टी भित्रको आन्तरिक समीकरणलाई समेत मिलाउँनुपर्ने हुन्छ । कांग्रेसभित्रको गुट, उपगुटका कारण एकले अर्कोलाई रोक्ने प्रयाससमेत जारी छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, कृष्ण सिटौला समुहबीच प्रदेश १ मा मन्त्री को बन्ने भन्ने ठुलो अन्तरविरोध छ । देउवा समूहका हिमाल कार्की र कृष्णप्रसाद सिटौला समूहका सरावगी र प्रतापप्रकाश हाङ्गाम तथा कोइराला समूहका सुयर्मा राजको सम्भावना बलियो रहेको कांग्रेसका एक नेताले बताए । कांग्रेस भित्रको विभिन्न समूहका कारण मन्त्रीको टुंगो लगाउँन समस्या भएको एक सांसदले बताए ।
माओवादी केन्द्रबाट इन्द्र आङबो, रामकुमार राई, झलकसिंह मगर, सीता थेवे, सौभाग्य राई, उमिता विश्वकर्मा लगायतका मन्त्रीको आकांक्षी देखिएका छन् । माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको बैठकले मन्त्रीको बारेमा टुंगो लगाउँने अधिकार प्रदेश स्तरका शीर्ष नेतालाई नै जिम्मेवारी दिएको छ ।
सरकारको नेतृत्व गर्ने एकीकृत समाजवादीबाट गणेश तामाङ, खिनु लङवा लिम्बु, सरिता थापा, सुनिता चौधरी, उपेन्द्र घिमिरे, सावित्राकुमारी रेग्मी लगायत मन्त्रीका लागि लबिङमा रहेका छन् ।
यस्तै जसपाबाट जयराम यादव वा रामचन्द्र लिम्बू मध्ये एकजना मन्त्री हुने सम्भावना रहेको छ । महिलालाई पठाउँनुपर्ने अवस्था आएको खण्डमा राधा थापा मन्त्री हुनेछिन् । यसैगरी प्रदेश १ मा रहेको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बिष्णु तुम्बाहाम्फे राज्यमन्त्री बन्ने चर्चा रहेको छ ।
Discussion about this post