काठमाडौं – डेल्टा र ओमिक्रोन भेरियन्टको दोहोरो मारमा परिरहेको बेलायतमा दैनिक कोभिड संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ । बिहीबार त्यहाँ ८८ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
बिहीबार बेलायतमा ८८ हजार ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । जुन संख्या महामारी शुरु भएयताकै उच्च हो । योसँगै एक हप्ताको अवधिमा दैनिक संक्रमितको संख्या ३१.४ प्रतिशतले बढेको हो । गत बिहीबार ५० हजार ८६७ नयाँ संक्रमित थपिएका थिए ।
बुधबार दैनिक संक्रमितको संख्या बढेर ७८ हजार ६१० पुगेको थियो र उक्त संख्या त्यसअघिको भन्दा धेरै हो । दैनिक संक्रमितको संख्या वृद्धि हुनुको एउटा कारण परीक्षणको दर बढ्नु रहेको बेलायती सञ्चार माध्यमले जनाएका छन् ।
तर संक्रमितको दैनिक संख्या बढे पनि मृत्यु हुनेको संख्या भने बढेको देखिँदैन । अस्पताल भर्ना हुनेको संख्या भने हल्का बढेको देखिन्छ । बिहीबार १४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ जुन संख्या बुधबार १६५ थियो ।
बेलायतमा निकै संक्रामक मानिएको नयाँ ओमिक्रोन भेरियन्ट पनि तीव्र गतिले फैलिइरहेको छ । बुधबारसम्म ओमिक्रोनका संक्रमितको संख्या १० हजारभन्दा माथि पुगेको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले नयाँ भेरियन्टका कारण सतर्क हुनुपर्ने बताइसकेका छन् । त्यस्तै, इंग्ल्याण्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक क्रिस ह्विटीले ओमिक्रोन भेरियन्ट ‘अकल्पनीय गतिमा’ बढ्न सक्ने बताएका छन् । तर बुस्टर डोज लगाउनेको संख्या बढ्दा ओमिक्रोन भेरियन्टका संक्रमित घट्ने उनको भनाइ थियो ।
बेलायतमा बुस्टर डोज लगाउने कार्यले समेत तीव्रता पाएको छ । बुधबार त्यहाँ अहिलेसम्मकै धेरै अर्थात् ७ लाख ४५ हजार १८३ जनाले कोभिड खोपको बुस्टर डोज लगाएका थिए ।
Discussion about this post