काठमाडौं – छिमेकी मुलुक भारतमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित ३५८ पुगेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ६५० जना नयाँ संक्रमित थपिएको र ३७४ जना संक्रमितको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५८ पुगेको छ ।
ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा छन् । त्यहाँ शुक्रबारसम्म ८८ जनामा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ६७ जनामा यो भेरियन्ट पुष्टि भएको छ ।
यसैबीच, उत्तर प्रदेशमा शनिबारदेखि रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । उत्तर प्रदेश सरकारले ओमिक्रोनका संक्रमित बढिरहेका बेला पूर्वसावधानी स्वरुप राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो । मध्य प्रदेश सरकारले हिजो नै रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको थियो ।
भारतको अल्लाहवादस्थित उच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको विधानसभा चुनाव रोक्न अपिल गरेको केही घण्टापछि रात्रिकालीन कर्फ्यू लगाउने निर्णय भएको हो ।
पछिल्लो समय कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि भारतका कैयौं राज्यमा सतर्कता अपनाउन थालिएको छ । केन्द्र सरकारले समेत राज्य सरकारलाई ठूला कार्यक्रममाथि रोक लगाउन र राति कर्फ्यू लगाउन सल्लाह दिएको छ ।
Discussion about this post