ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा सोमबार गाउँ फर्किएका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाँक्लिदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन् ।
अन्दाजी ५०/५५ वर्षका लाक्पाटासी शेर्पा र उनका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फसेका थिए । चौँरी गोठ सार्ने क्रममा हिमपहिराले बाटो बगाएसँगै उनीहरू ओढारमा अल्झिएर बसेका थिए ।
उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युड एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि बाबुछोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन ।
हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि बिस्तारै बग्दै गएपछि सोमबार दिउँसो उनीहरू गाउँ निस्कन सफल भएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।
हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए । चार हजार मिटर उचाइमा अवस्थित पापुङको लोनाक भन्ने ठाउँमा चौरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए । रासस
Discussion about this post