काठमाडौं – गत पुष १८ गते आइतबार उदयपुरकी मुना थापा बेलुका ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पुगिन् । मुना साउदीबाट फर्किदैं गरेका आफ्ना श्रीमानलाई स्वागत गर्न खुशी हुँदै त्यहाँ पुगेकी थिइन् ।
२९ वर्षीय ध्रुव भनिने पेशल खत्री मुनाका श्रीमान झण्डै एक वर्षको साउदी बसाइपछि नेपाल आउँदै थिए । श्रीमतीलाई काठमाडौं ध्रुवले नै बोलाएका थिए ।
श्रीमानलाई विमानस्थलमै स्वागत गर्ने तयारीका साथ मुना उदयपुरको गाईघाटबाट काठमाडौँ आएकी थिइन् । तर, ध्रुब भने आएनन्, ध्रुवले रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट आफू उड्दै गरेको मुनालाई बताएका थिए ।
‘१८ गते राती ९ बजे नेपाल आइपुग्छु भनेपछि म एयरपोर्टमा लिन गएकी थिएँ,’ मुनाले पर्खाइको पीडादायी क्षण सुनाउँदै भनिन्, ‘राती एक बजेसम्म विमानस्थलमा कुरेर बसेकी थिएँ, तर उहाँ आउनु भएन ।’
त्यो दिनदेखि ध्रुवको मोबाइल नम्बर पनि स्वीच अफ छ । उनी साउदीबाट उडे कि उडेनन् ? नेपाल आए कि आएनन् ? केही पत्तो छैन । श्रीमान् कुरिरहेकी मुना भारी मन लिएर विमानस्थलबाट फर्किइन् । त्यसको केही दिनपछि पनि श्रीमानको खबर नपाएकी उनी उदयपुर फर्किइन् ।
ध्रुव साँच्चिकै त्यो दिन रियादको विमानस्थलमा पुगे वा उनले श्रीमतीलाई झुट बोले ? केही खुलेको छैन । यसअघि ध्रुवले आफू बिरामी परेकोले साउदीमा काम गर्न नसक्ने कुरा बताउने गरेका थिए ।
‘जहिले पनि उहाँले म बिरामी छु, काम गर्न सक्दिन नेपाल आउँछु भन्नु हुन्थ्यो । कम्पनीमा काम समेत छोड्नु भएको थियो रे,’ मुनाले श्रीमानको बाध्यता सुनाउँदै भनिन्, ‘बिरामी भए आउनुस् न त भनेर बोलाएका थियौँ । तर, आउँछु भनेर किन आउनु भएन, केही पत्तो छैन।’
ध्रुव ‘डिप्रेसन’को बिरामी भएको हुन सक्ने मुनाको आशंका छ । हालसम्म पनि सम्पर्कमा नआएपछि मुनाले रियादस्थित नेपाली दूतावासदेखि एनआरएनएसम्मलाई श्रीमानको खोजी गरिदिन अपील गरेकी छिन । मुना घरमा एक छोरा र छोरीका साथ श्रीमान् आउने बाटो हेरेर बसिरहेकी छिन । साभार
Discussion about this post