ललितपुर – निम्बल पब्लिकेसनद्वारा प्रकाशित सञ्जय तुम्बाहाङ्फेकृत कविताकृति ‘सृष्टिको याङ्दाङ्’ आज सार्वजनिक भएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि कवि बिमला तुम्खेवाले लेखकका कविताहरुमा मुन्धुमी बिम्बहरुको प्रयोगसँगै प्रतिरोधी चेत पाइने बताइन् । यो कवितासङ्ग्रहले साहित्यवृत्तमा कविको नाम स्थापित हुने कुरामा आफू विश्वस्त रहेको उनले बताइन् ।
वक्ता कवि स्वप्निल स्मृतिले सञ्जय तुम्बाहाङ्फेका कविताहरुलाई विद्रोही कविताको संज्ञा दिए । वैरागी काइँलाबाट सुरु भएको मुन्धुमी बिम्बहरुको सफल प्रयोगलाई सञ्जयले पनि निरन्तरता दिएको उनले बताए । सञ्जयका कविताहरु सामाजिक न्यायको पक्षमा र सबै खाले विभेदका विरुद्ध लेखिएको उनको भनाइ थियो ।
अर्का वक्ता कवि केशव सिलवालले सञ्जयका कविताहरु गैरजनजातिले धेर पढ्नुपर्नेमा जोड दिए । लिम्बु समुदायको मनोविज्ञान, सौन्दर्यशास्त्र र सांस्कृतिक परिवेशलाई नजिकबाट बुझ्नका लागि कवितासङ्ग्रहले भूमिका खेल्ने उनले बताए । सञ्जयका कविताहरुले विभेदमुक्त सांस्कृतिक समाजको परिकल्पना गरेको उनको भनाइ थियो ।
सन्नी लिम्बुकाे अध्यक्षतामा ललितपुरकाे शाेभाहिटीस्थित चुम्लुङहिममा सम्पन्न कार्यक्रमको आयोजक याक्थुङ्ग लेखक संघ, काठमाडौं उपत्यका समिति रहेकाे थियाे भने र कार्यक्रम सञ्चालन सुनिल आङबाेले गरेका थिए ।
Discussion about this post