काठमाडौं – खाडी देश साउदी अरेबियाले छिमेकी देश यमनको एक डिटेन्सन सेन्टरमा हवाइ आक्रमण गरेको छ । साउदी नेतृत्वको गठबन्धनले गरेको एयरस्ट्राइकको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । यो एयरस्ट्राइकमा ७० भन्दा धेरै मानिसहरु मारिएका छन् ।
हुती विद्रोहीहरुको आन्दोलनको गढ मानिने सादाको डिटेन्सन सेन्टरमा शुक्रबार यो आक्रमण गरिएको थियो । मृत्यु हुनेहरुको सटिक संख्या थाहा हुन सकेको छैन । मेडिसिन्स स फ्रन्तिएले आक्रमणमा कम्तीमा ७० जना मारिएको बताएको छ । यो संख्या अझै बढ्ने आशंका छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन् ‘यस किसिमका आक्रमण रोक्नु आवश्यक छ ।’ उनले यो आक्रमणको जाँच गरिने कुरामा पनि जोड दिएका छन् । साउदी अरबको नेतृत्वमा गठबन्धन सेना २०१५ देखि हुती विद्रोहीहरुसँग लडिरहेको छ ।
यो युद्धमा १० हजारभन्दा धेरै बालबालिकासहित दशौं हजार मानिसहरु मारिएका र घाइते भएका छन् । लाखौं नागरिक विस्थापित भएका छन् र ठूलो जनसंख्या अनिकाल र भोकमरीको संघारमा छ । बीबीसीकी मध्यपूर्व संवाददाता एना फोस्टरका अनुसार हवाइ आक्रमणको केही समयपछि उद्धारकर्मीले भग्नावशेषबाट शव बाहिर निकालिरहेका थिए ।
Discussion about this post