कविता `सम्झौता´
कवि राम योन्जन`गाउँले´
सम्झौता हुनसक्छ- मुटुसँग मुटुकै!
मनसँग मनकै/ दिलसँग दिलकै।
सम्झौता- न हार न जीत!
एक सम्मानको गुराँसमय पहाड हो।
आफू छोपिने र पुरिने सम्झौता-
उज्यालो दिने घामले कसरी गर्न सक्छ बादलसँग?
बादलको नियत र दाउ भनेकै-
उज्यालो संसारलाई अँध्यारो बनाउँने हो।
अँध्यारोको ओठबाट निस्किएको मुस्कानले
खुसी बनाउन सक्तैन कसैलाई।
महोदय, – सम्झौता गर्नु पूर्व
गरिने सम्झौतामा- आफ्नो माटोको सुगन्ध
ख्याल गर्नू स्वतन्त्र छ कि छैन।
याद गर्नू-
स्वाधीनताको सगरमाथा यसरी नै उभिरहन सक्छ कि सक्तैन।
सम्झौताको प्रत्येक शब्दशब्दमा-
विचार गर्नू-
हजुरको हस्ताक्षरले गुराँसको सम्मान दिन्छ कि दिँदैन।
इतिहास पढिरहेछु म दोहोर्याएर अचेल!
र सम्झिरहेछु-
आजसम्म पनि कायमै रहिआएको हाम्रो पूर्खाको वीरता
अनि राष्ट्रप्रतिको असीम प्रेम।
सम्झौता-
गाँसिएको र उनिएको प्रेमको माला हुन सक्तैन।
मुख्य कुरा- बाँच्नुहोस्/ बच्नुहोस्।
सम्झौता- थेग्नै नसकिने दुर्घटना नबनोस्।
प्रेममय सम्झौता हो भने-
सम्मानजनक सम्झौता हो भने-
हितार्थ सम्झौता हो भने-
महोदय- सार्वभौमिकतालाई शीरमा राखेर हिँड्नुहोस्।
सम्झौता- न दबाब हुनसक्छ कसैको
सम्झौता- न त प्रभाव हुनसक्छ कसैको।
आँखाको एकमुठी उज्यालो पाउने लोभमा-
नघुमोस् पूर्खाले छोडिगएको दिलको प्रेमिल उज्यालो।
हामी मर्न तयार छौँ भोकै- भोकसँग
हामी दियालो बालेरै-
आफ्नो अनुहार उज्यालो बनाउन चाहन्छौं
बरु- हामी पैदल हिँडेरै-
मन्जुर छौँ हरेक समय पल जटिल जीवनयात्रा गर्न।
कृपया- घातक सम्झौता नगर्नुहोस्।
हामी सम्झौताभित्र या बाहिर-
सधैं सगरमाथा भएर बाँच्न सकौं।
Discussion about this post