रुसले युक्रेनसँगको सीमा क्षेत्रबाट आफ्ना केही सैनिक फिर्ता गरेको छ । अमेरिकाले रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने बताइरहेका बेला रुसले भने सेना र सेनाले प्रयोग गर्ने सवारी साधनहरू फिर्ता गरेको भिडियो सार्वजनिक गरेको हो ।
रुसको रक्षा मन्त्रालयले सीमा क्षेत्रमा अभ्यास पूरा गरेका सैनिकहरू फिर्ता भएका र अझै पनि अभ्यास भइरहेकाे बताएको बीबीसीले जनाएको छ । रुसको रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा सैनिक फिर्ता हुने क्रम सुरु भएको र अब अभ्यास सकेकाहरू फिर्ता हुने क्रम निरन्तर हुने उल्लेख छ । युक्रेनले पनि आफ्नो सीमा क्षेत्रबाट रुसी सेना फर्किरहेका र त्यहाँ रहेका सेना पनि चाँडै फर्कने अपेक्षा रहेको बताएको छ ।
अघिल्लो केही महिनादेखि युक्रेनको सीमामा रुसले एक लाखभन्दा धेरै सङ्ख्यामा सैनिक तैनाथ गरेको छ । अमेरिकासहित थुप्रै पश्चिमी देशले रुसले युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको आरोप लगाउँदै आएका छन् । ती देशले युक्रेनमा रहेका आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह पनि गरेका छन् । तर रुसले भने युक्रेनमाथि आक्रमणको अस्वीकार गर्दै आएको छ ।
रुसले युक्रेनलाई कहिल्यै पनि नेटोको सदस्य नबनाउने ग्यारेन्टी माग्दै सीमा क्षेत्रमा सैनिक उपस्थिति बढाएको छ भने अमेरिकासहित नेटो आबद्ध देशहरूले त्यसलाई अस्वीकार गरिरहेका छन् ।
Discussion about this post