पाँचथर । याङवरक ४ स्थित कालिका मन्दिर परिसरमा युद्वकालिन हात हतियार सहित निशान प्रदर्शन गरिएको छ ।

नेपाल राज्यको एकिकरणका क्रममा १७ पटकसम्म युद्व गर्दा पनि जीतहार नभएपछि सम्झौताका क्रममा तत्कालिन राजा पृथ्वीनारायण शाहले पल्लो किराँतका लिम्बूहरुलाई उपहार स्वरुप छोडेको निसान प्रत्येक वर्ष नवरात्रको महानवमीमा प्रदर्शन गर्ने चलन छ ।

निशानसँगै युद्वकालिन समयमा प्रयोग भएका भाला,खुँडा,खुकुरी र तरवार जस्ता हतियार नचाँउदै प्रदर्शन गर्ने चलन छ । यद्वपी गतवर्ष भने कोरोना संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै निशान जात्रा स्थगन गरिएको थियो ।

स्थानीय स्तरमा निशानजात्रा र मौलोका नामले प्रचलित यो जात्रा हेर्दा दुर्गा भवानीको शक्ति प्राप्त हुने जनबिश्वास छ ।

सोहि अनुसार यहाँ निशान हेर्न पाँचथर सहित छिमेकी ताप्लेजुङ,तेह्रथुम र इलाम हुँदै सिक्किमसम्मबाट मानिस आइपुग्छन ।

निसान जात्राको नेतृत्व थर्पु र नाँगी गाविसका लिम्बूहरुले गर्दै आएका छन । भने जात्राको संरक्षणका लागि याङवरक गाँउ पालिकाले आर्थिक सहयोग गर्दै आएको छ । यसवर्ष यो जात्रा हेर्न विभिन्न स्थानबाट २० हजार मानिसहरू आएको निशान बजार व्यवस्थापन समितिले जनाएको छ । मितेरी डटकम

प्रतिक्रिया लेख्नुहोस्