पोखरा , २८ जेठ।

पंचासे हर्पन डाँडा समाज युकेले कोरोना महामारीका कारण समस्यामा परेकाहरुको लागि दोश्रो चरणमा राहत स्वरुप नगद र खाधान्न सामाग्री वितरण गरेको छ। कास्कीको पोखरा महानगरपालिका -२३ मा पर्ने पर्यटकीय स्थल पंचासे डांडा नजिकका दमदमे , सिधाने , कुद्बीडाँडा र मकानपुर गाउंबाट बेलायतमा गएर विभिन्न पेशा र व्यवसायमा संलग्न हरुले झण्डै एक दशक अगाडी समाजको स्थापना गरेका थिए।

समाजले पहिलो चरणमा उल्लिखित चारवटा गाउंमा पुगेर ८० परिवारलाई करिव २ लाख ४० हजारको खाधान्न सामाग्री राहत स्वरुप वितरण गरेकोमा दोश्रो चरणमा ति गाउंबाट पोखरा आएर बसोबास गर्ने तर कोरोनाका कारण समस्यामा परेका १७ परिवारलाई करिब ९० हज़ार रुपैया बराबरको नगद र खाधान्न सामाग्री वितरण गरिएको थियो।

राहत वितरणमा समाजका महासचिव प्रकाश गुरुडं र समाजका सदस्यहरु धर्मवती गुरुङ,संगीना गुरुङ,मन देवी गुरुङ सहित पोखराका निर्माण व्यवसायी ठाकुर गुरुङ र अग्रज पत्रकार एवं स्कुल अफ डेमोक्रेसीका गण्डकी प्रदेश समितिका अध्यक्ष गंगाधर पराजुली समेत सहभागी थिए। समाजका महासचिव र सदस्यहरु चारै जना लकडाउनका कारण बेलायत फर्किन नपाएपछि पोखरामा बसेर राहत वितरण लगायतका सामाजिक काममा जुटिरहेका छन।

मंगलवार पनि टोलीले पोखराको छोरेपाटन , पृथ्वीचोक , लालीगुरांस टोल , लेकसाईड , विरौटा , लामाचौर लगायतका क्षेत्रमा गाउंबाट आएर बसोबास गर्दै आएका दलित , विपन्न र असहाय परिवारलाई घरघरमै पुगेर राहत वितरण गरिएको थियो।
त्यस क्रममा पोखराको बिरौटमा भाडामा बस्दै गरेकी चीज कुमारी गुरुङलाई नगद ३० हज़ार रुपैया र खाधान्न सामाग्री वितरण गरिएको थियो । आफ्नो श्रीमानको रहस्यमय मृत्यु पछि होटलमा सामान्य काम गरेर चार जना छोरीहरु सहित बस्दै आएकी उनले श्रीमानको मृत्युपछि घरपरिवारबाट समेत कुनै सहयोग नपाएको भन्दै दुखेसो गरेकी थिईन।
यसै गरि पृथ्वीचोक क्षेत्रमा सुकुम्बासी टोलमा बस्ने जौमाया गुरुङ लाई नगद १० हज़ार रुपैयां सहित खाधान्न सामाग्री वितरण गरिएको थियो।

लालीगुरास टोलमा बस्ने वृद्धा मिन कुमारी घलेका श्रीमान ४० वर्ष अगाडी बाट सम्पर्क विहिन ( वेपत्ता) रहेको भएपनि एकल महिलाले पाउने भत्ता पाउन नसकेको र उनको उमेर ७० वर्ष पुगिसकेको भएपनि नागरिकतामा भने कम उमेर ( ५९ वर्ष ) मात्र उल्लेख गरिएको कारण सरकारबाट उपलब्ध हुने वृद्ध भत्ताबाट समेत उनि वन्चित रहेकी छन। उनको छोरा बुहारीबाट एक छोरीको जन्म भएपछि छोराको मृत्यु भएको र बुहारीले पनि घर छोडेर अन्यत्र हिंडेपछि वृद्ध हजुरआमा र नातिनी सलिना घले मात्र परिवारमा छन ! सलिनाले कक्षा १२ उत्तिर्ण गरेको भएपनि आर्थिक अभावका कारण पढाईलाई निरन्तरता दिन नसकेको बताएपछि टोलीले उनको अध्ययनका लागि सहयोग गर्न पहल गर्ने आश्वासन समेत दिएको थियो।

समाजले आफ्नो गाउं क्षेत्रबाट पोखरा आएर बसेका हरुको वास्तविक समस्याबारेमा जानकारी लिने अनि राहत पाउनेहरुलाई गर्मी र वर्षाका कारण समस्या नहोस भन्ने उद्देश्यले उनिहरु बस्ने ठाउंमा नै राहत सामाग्री पुर्याएको समाजका महासचिव प्रकाश गुरुडंले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्