गुरुकुल खबर,

काठमाडौं , संघीय संसदकोे शिक्षा तथा स्वास्थ्य समितिको बैठकले एसईई परीक्षा सधैंको लागि खारेज गर्न निर्देशन दिएको छ । सरकारले कोरोना संक्रमणको कारण २०७६ सालको एसइई परीक्ष नलिने निर्णय गरे लगत्तै संसदीय समितिले एसईई परीक्षा सधैंको लागि खारेज गर्न निर्देशन दिएको हो । संविधान र कानूनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकाले यस वर्ष स्थगित भएको एसईई परीक्षा सधैंको लागि हटाउन मन्त्रालयलाई निर्देशन दिइएको हो ।

बैठकले कक्षा ११को स्थानीय तह र १२ को राष्ट्रिय परीक्षा बोर्डले नै लिनको लागि कानूनी व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । कक्षा १०, कक्षा ११ का परीक्षाहरु स्थानीय तहबाट संचालन गर्ने र कक्षा १२को मात्रै राष्ट्रिय स्तरको परीक्षा हुने गरी आवश्यक कानूनी व्यवस्था मिलाउन मन्त्रालयलाई शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीको सभापतित्वमा बसेको बैठकले विद्यालयको लागि स्रोत साधन उपलब्ध गराउने, गुणस्तरवृद्धि गर्ने, भौतिक पूर्वाधारको सुनिश्चित गर्ने लगायत सम्पूर्ण दायित्व सरकारको भएकाले त्यसको लागि आवश्यक प्रबन्ध सरकारले मिलाउनु पर्ने निष्कर्ष समेत निकालेको छ । साथै सामुदायिक विद्यालयको सम्पूर्ण जिम्मा सरकारले नै लिनुपर्ने समेत निर्णय गरेको छ । बैठकले अति विपन्न परिवारका विद्यार्थीहरुलाई प्राथमिकतामा राखी उनीहरुको सिकाइलाई प्रभावकारी बनाउन समेत निर्देशन दिएको समितिका एक सदस्यले बताए ।

फरक क्षमता भएका विद्यार्थीहरुका लागि विशेष व्यवस्था गर्नुपर्ने, सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइको गुणस्तरलाई प्रभावकारी बनाउन, सामुदायिक विद्यालयलाई सूचना प्रविधिको प्रयोग गर्न सक्ने बनाउन निर्देशन दिएको छ । प्रविधि, पूर्वाधार र जनशक्ति तालिमको व्यवस्था गर्नुपर्ने र कार्यक्रमहरु संचालन गर्नको लागि आर्थिक श्रोतको समेत सुनिश्चित गर्नुपर्ने, सामुदायिक विद्यालयहरुमा प्रविधिको दीर्घकालीन व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले संसदले निर्देशन दिएपछि गृहकार्य सुरु गरेको बताउँदै त्यसको लागि छलफल अघि बढाएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्