गुरुकुल खबर, कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण विद्यालय तत्काल नखुल्ने भएपछि सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको छ । सरकारले घरबाटै पढ्ने सक्ने गरी असार एक गतेबाट भर्चुअल तरीकाबाट पढाउन सुरु गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, श्रव्यदृश्य शाखाले श्रृव्यदृश्य माध्यमबाट पढाउनका लागि सामग्री तयार पारेको हो । केन्द्रले पाठ्यपुस्तक र पाठ्यक्रममा आधारित भएर उत्पादन गरेका श्रव्यदृश्य सामग्रीबाट करीब ६० लाख विद्यार्थी लाभान्वित भइरहेका छन् ।

केन्द्रका अनुसार पहिलो चरणमा कक्षा ९ र १०का लागि डिसहोम, नेट टिभी र मेघा म्याक्स च्यानलबाट पढाउन सुरु गरिएको छ । त्यस्तै कक्षा एकदेखि आठसम्म एनटिभी प्लस र रेडियो नेपालबाट पढाई भइरहेको छ । त्यसपछि आवश्यकता अनुसार थप पाठ्यसामग्री तयार पार्ने केन्द्रले बताएको छ । केन्द्रका उपमहानिर्देशक विष्णु अधिकारीले यो कक्षा प्रभावकारी भइरहेको बताए । केन्द्रका अनुसार कक्षा ९ र १०को ६ वटा अनिवार्य विषयहरु पढाइ भइरहेको छ र कक्षा १देखि ८ सम्म विज्ञान, गणित र अंग्रेजी विषय पढाई भइरहेको छ । सबै तहको पठनपाठन बिहान १० बजेदेखि ३ बजेसम्म भइरहेको छ ।

केन्द्र उपमहानिर्देशक अधिकारीकै नेतृत्वले पाठ्य सामग्री तयार पारेको हो । केन्द्रका योजना तथा कार्यक्रम महाशाखाका प्रमुख उप महानिर्देशक इमनारायण श्रेष्ठले करीब १५ करोड रुपैयाँमा पाठ्यक्रम निर्माण गरिएको बताए । शैक्षिक सत्र नबिग्रियोस् भन्दै वैकल्पिक तरीकाबाट विद्यार्थी पढाएको श्रेष्ठले बताए । ‘विद्यार्थीलाई जस्तो सुकै अवस्थामा पनि पढ्नुपर्छ भन्ने सन्देश दिन रेडियो र टेलिभिजनबाट पढाइ सुरु गरेका हौं ’ श्रेष्ठले बताए ।

प्रतिक्रिया लेख्नुहोस्