प्रधानमन्त्री केपी शर्मा ओलीले आजकल आफ्नो सम्बोधनै पिच्छे रोगको प्रतिरोधात्मक क्षमता बढाउन बेसार खानुपर्नेमा सुझाउँदै आएकाछन् । त्यसो त उनले शुरु शुरुमा नेपालीको भान्सामा बेसार पाक्ने हुनाले कोरोनाको संक्रमण फैलन नसक्ने तर्क पनि गर्दै आएका थिए । उनको सुझाव र तर्कमा तथ्य के छ भन्ने कुरामा कमै चर्चा भए पनि सामाजिक संजालमा बेसारलाई जोडेर स्ट्याटसले भने भरिन थालेका छन् तथापी उनले आफ्नो रटान दोहोराउँदै आएका छन् ।

एकताका उनी सहित उनका अर्का अध्यक्ष प्रचण्डले व्यावसायी दुर्गा प्रसाईंको घरमा पुगेर मार्सी चामलको भात खाएको तस्विर भाइरल भए पछि एकाएक मार्सी चामलको माग बढेको थियो । त्यो समय बाजुराका जय बहादुर सिंहले गाउँ पुगेर मार्सी धानको चामल लिएर काठमाडौंमा बिक्री गरको अनुभव सुनाए । ‘गाउँमा तराईबाट गएको चामलको भात खान मरि मेट्थ्यौं तर यता गाउँको चामलको चर्चा हुन थाल्यो,’ सिंहले नागरिकसँग भने,‘चामलको माग पुराउन समेत गाह्रो भयो, त्यो समय एक किलोकै अढाई सयसम्ममा बिक्री गरियो ।’ तर अहिले मार्सी धानको चामलको माग त्यति नभएको उनको बुझाई छ ।

नेता जोडिँदा महत्व बढेको मार्सी धानको चामल जस्तै बेसारको माग पनि बढ्नुपर्ने तर व्यापारीहरु बेसारको मागमा कुनै प्रभाव नपरेको बताउँछन् । किराना व्यावसायी महासंघका पूर्व अध्यक्ष पवित्र कुमार बज्राचार्य प्रधानमन्त्रीले नभनेकै अवस्थामा पनि भान्सामा बेसार प्रयोग हुँदै आएकोले एक्कासी माग बढ्ने भन्ने नहुने बताउँछन् । ‘बेसार स्वास्थ्यका लागि आवश्यक कुरा त हो तर उहाँले जसरी हचुवाका भरमा बोल्दै आउनुभएको छ, त्यसलाई सबैले ठट्टाका रुपमा लिएकाछन्,’ बज्राचार्य भन्छन्,‘तर दालचिनी, ल्वाङ जस्ता अरु मसलाजन्य पदार्थको माग केही बढेको महसुस गरेका छौं ।’
स्वास्थ्य अनुसंन्धान परिषद्का वोर्ड सदस्य समेत रहेका आर्यूवेद् चिकित्सक डा.हेमराज कोइराला प्रधानमन्त्रीको प्रस्तुति र व्याख्या जस्तो भए पनि बेसारमा औषधीय गुण पर्याप्त रहेको बताउँछन् ।‘बेसार लगायत गुर्जो,अस्वगन्धा,असुरो,पिप्ला,जेठी मधु जस्ता जडिवुटीले रोगको रोकथाममा भुमिका निभाउन सक्छन्,’ कोइराला भन्छन्,‘ तर यसलाई कुन फर्म र मात्रामा खाने भन्ने कुरामा जानकारी हुनुपर्नेमा नभएको पाइएको छ ।’ उनले बेसारमा भाइरल इन्फेक्सनलाई नियन्त्रण गर्ने गुण भएको बताउँछन् । ‘बेसार १ ग्राम भन्दा बढि खानु हुँदैन,हाम्रो भान्सामा हरेकमा बेसार चाहिने हुनाले थप खानुपर्छ भन्ने पनि हुँदैन,’ उनी भन्छन्,‘ तर यसलाई तेलमा फुराउँदा तत्व नष्ट हुने हुनाले तरकारी भुटिसके पछि राख्न सुझाउँछन् ।’

प्रधानमन्त्रीले पटकै पिच्छे खान सुझाउने आयुर्वेदका यि औषधीको प्रवद्र्धनमा कार्यक्रम ल्याउन उनकै सरकारले पहल नगरेको उनको गुनासो छ । ‘सरकारले जहल्यिै योजना बनाउँदा डब्लूएचओलाई हेरेर बनाउँछ, जसले आर्युवेदलाई प्राथमिकता दिँदैन,’ उनी भन्छन् ,‘स्वास्थ्यमा आएको बजेट ९७ प्रतिशत एलोपेथिकमै जान्छ, बाँकी तीन प्रतिशत आर्युवेदमा जान्छ, होमोपेथिकको त नामै आउन्न ।’उनी स्वास्थ्य मन्त्रालयले सबैलाई समेटेर कार्यक्रम ल्याउन नसकेको बताउँछन् । भन्छन्,‘स्वास्थ्य मन्त्रालय त हाम्रा लागि एलोपेथिक मन्त्रालय हो ।’
सरकारले कृषि अनुसन्धान परिषद् नार्क मार्फत अदुवा बाली अनुसन्धान कार्यक्रम चलाइहेको छ । बि.स २०४९ मार्फत संचालनमा आएको कार्यक्रमले अहिलेसम्म कपुरबोट १ र २ को अनुसन्धान पश्चात सिफारिस गरेको छ तर सिफरिस भएकै जातको प्रयोग कम रहेको पाइएको छ । ‘अदुवा सबैमा एकनास औषधीय गुण हुन्छ तर बेसारमा मुख्य गरि कपुरबोट १ र २ मा मात्र बढि औषधीय गुण पाउँछ,’ कार्यक्रमका प्रमुख समिर अहमद भन्छन्,‘किसानले अहिले एक सय २० प्रकारका विउको प्रयोग गरेका हुन्छन्, हामीले विभिन्न ठाउँमा उत्पादन गर्दै सिफारिस जात वितरण गर्दै आएका छौं तर अन्य निकाय र किसानले यसको विस्तारमा चासै देखाउन्नन् ।’
मसला बाली विकास कार्यक्रमका प्रमूख युवराज पाण्डेय पछिल्लो समय अदुवा, बेसार लगायतका मसलाबालीमा आर्कषण बढ्दै गएकोले तीनै तहका सरकारले यसलाई प्राथमिकता दिएको बताउँछन् । ‘हामीले बिउको उत्पादन गर्दै आएका छौं, कृषि ज्ञान केन्द्र मार्फत वितरण गर्ने हुनाले यसका माग धान्नै सक्दैनौं,’उनी भन्छन्,‘सिंचाई सुविधा नभएको ठाउँमा पनि खेती गर्न सकिने र जंगली जनावरले असर नगर्ने हुनाले पनि यसको व्यावसायमा फाइदा छ ।’ उनले आर्कषण बढेको बताए पनि सरकारी तथ्यांकले यसको उत्पादन क्षेत्रमा कमी आएको देखाउँछ ।

सरकारले भख्ररै जारी गरेको आर्थिक वर्ष ०७६÷०७७ को सर्भेक्षणले मुलुकभर ७० हजार ३ सय २१ हेक्टरमा मसलाबाली उत्पादन हुँदै आएको छ । जुन आर्थिक वर्ष ०७५÷०७६ को तुलनामा २.९ ले कम हो । तथापी सर्भेक्षणले उत्पादन ९.५ प्रतिशतले बढेर पाँच लाख ५० हजार २८१ मेट्रिक टन पुेगेको देखाएको छ । जसमा बेसार भने ६ हजार सात सय ७७ हेक्टरमा बेसार खेती गरिँदै आएको र उत्पादन ६६ हजार मेट्रिक टन छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा करिव २८ करोड बराबरको २१ सय ८० टन बेसार आयात भएको छ । गएको बर्ष बर्षभरीमा २६ करोड २० लाखको दुई हजार २१ टन बेसार आयात भएको विभागको तथ्यांक छ ।

प्रतिक्रिया लेख्नुहोस्