काठमाडौं महानगरपालिकाले महानगरभित्रका प्रत्येक वडामा मिर्गौला बचाउ अभियान संचालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा उक्त अभियान संचालन गर्ने उल्लेख छ । यसैगरी आगामी आर्थिक वर्षमा कम्तिमा ५० शैय्याको आफ्नै अस्पताल संचालन गर्ने नीति तथा कार्यक्रममा जनाइएको छ । महानगरपालिका क्षेत्रभित्र संचालनमा रहेको सामुदायिक अस्पतालाई महानगरको अस्पतालको रुपमा संचालन गर्ने उल्लेख छ ।

यसैगरी नीति तथा कार्यक्रमले वरिष्ठ ज्येष्ठ नागरिकको विशेषज्ञ चिकित्सद्धारा नियमित एवै निशुल्क स्वास्थ्य परीक्षण सेवालाई निरन्तरता दिने जनाइएको छ । महानगरवासीहरुको लागि स्वस्थ जीवनका लागि स्वच्छ आहार विहारको नीति अवलम्बन गर्ने जस्ता कुरालाई पनि नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ । ‘गुणस्तरीय एवं न्युनतम स्वास्थ्य सेवा प्राप्त गर्न पाउने हकलाई सुनिश्चित गर्न काठमाडौं महानगरपालिका क्षेत्रमा सञ्चालित सबै सरकारी, निजी र सामुदायिक अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर नियमन र अनुगमन गर्ने संस्थागत व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

यसैगरी अर्बुद रोग लगायत अन्य दीर्घ रोगको समयमै स्वास्थ्य परीक्षण गर्न दीर्घरोग स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ । कोभिड १९ तथा अन्य सम्भावित महामारीबाट जोगिन आवश्यक निरोधात्मक उपायहरु प्रभावकारी रुपमा लागु गरिने जनाइएकोछ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष ७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारीप्रबद्र्धन, आवागमन ब्यबस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्