काठमाडौं । कुनै समय थियो, हिरो होन्डा नेपालको सर्वाधिक मोटरसाइकल बिक्री गर्ने कम्पनीमा पथ्र्यो । भारतमा जब हिरो र होन्डाको साझेदारी सकियो नेपालमा हिरोको बिक्री क्रमश ओरालो लाग्यो ।

तर, भारतमा होन्डा र हिरो छुट्टीदा पनि हिरो नै पहिलो स्थानमा रहन सफल भएको छ । कम्पनी निरन्तर बिक्री बढाइरहेको छ । नेपालमा भने पहिलो स्थानबाट झर्दै हिरो पाँचौ स्थानमा झरेको छ ।

नेपालमा हिरोको बिक्रीमा गिरावट आउनुमा ग्राहकको चाहना अनुसारका उत्पादन बजारमा ल्याउन नसक्नु हो । हिरो स्प्लेन्डरको स्थानमा होन्डाले ल्याएको साइन, हिरो प्लेजरको स्थानमा होन्डाले ल्याएको डियो र एभिएटर जस्ता मोडलले हिरोको बजार हिस्सा नेपालमा खोस्यो ।

हिरोले पछिल्लो समय ल्याएको डुएट र ड्याज स्कुटर तथा एक्सपल्स सिरिजसँगै बजारमा पुनः घटेको बिक्रीलाई माथि तान्ने प्रयास गरिरहेको छ । यसमा कम्पनीले सफलता पनि पाउन सुरु गरेको छ । यस्तोमा हिरोले केही महिना अघि भारतीय बजारमा ल्याएको एक्स्ट्रीम १६० आर नेपाल ल्याउने तयारी गरेको छ ।

‘नेपाली सडक सुहाउदो केही मोडल नेपाल ल्याउने तयारी भइरहेको छ । तर, त्यसको लागि तपाईहरुले केही समय कुर्नु पर्छ’, हिरोको नेपालको लागि आधिकारीक बिक्रेता एनजीएमका चेयरम्यान अभिक ज्योतिले मेरोअटोसँग भने ।

ज्योतिका अनुसार हिरोले केही अपग्रेड भएका मोडल र केही नयाँ मोडल नेपाल आउने छन् । विशेषत यी उत्पादन दशैंको अवशर पारेर कम्पनीले ल्याउने छ ।

हिरोले नेपालमा सडक परिक्षण सुरु गरेको एक्स्ट्रीम १६० सेग्मेन्टमा पावरफुल मोटरसाइकलको रुपमा आउने भएको छ । एनजीएमले आधिकारीक रुपमा यसको पुष्टि नगरेपनि विभिन्न स्रोतले यसको सडक परिक्षण नेपालमा भइरहेको जनाएको छ ।

‘संभवत दशैं अगाडि नै नेपाली बजारमा यसको बिक्री वितरण सुरु हुने छ । अहिले यसको परिक्षण चलिरहेको छ’, एक डिलरले मेरोअटोसँग भने ।

एक्सपल्स र नयाँ स्कुटरले बिक्री संख्यामा बढ्त्तरी गरेको हिरोका मोटरसाइकलमा एक्स्ट्रीम १६० आरले नयाँ ढोका खोल्ने देखिएको छ । यद्यपी कम्पनीले गर्ने यसको मूल्य निर्धारणले धेरै कुरा भर पर्छ ।

भारतमा टप भेरियन्ट डबल डिस्कको एक्स शोरुम मूल्य १ लाख ३ हजार रुपैयाँ रहेको छ । यस हिसाबले नेपालमा यसको मूल्य ३ लाख २० हजारसम्म निर्धारण हुने हो भने यसले बजारमा रहेका अन्य प्रतिस्पर्धीलाई कडा चुनौति दिने देखिन्छ ।

१६३ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन रहेको एक्स्ट्रीम १६० आरले अधिकतम ८५०० आरपीएममा १५ पीएस पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

अहिले यो सेग्मेन्टमा टीभीएस १६० फोर भी, यामाहा एफजेएस भी थ्रि, सुजुकी जिक्सर १५०, होन्डा एक्सव्लेड, बजाज पल्सर एनएस १६० जस्ता मोडल रहेका छन् ।

यस्ता मोडलसँग प्रतिस्पर्धा गरेर कम्पनीले कस्तो बिक्री पाउने छ यो विषय थाहापाउन भने केही समय कुर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्