पाँचथर, ५ भदौ

“अव अर्को भैंसी किन्छु । सहकारीले राम्रै मूल्य दिएर दूध खरिद गर्ने भनेको छ”, रु. ४० हजारको चेक पाएपछि जिल्लाको कुम्मायक–२ माङजाबुङकी दीपमाला कुँवरको अपेक्षा थियो, “विस्तारै हाम्रो पनि राम्रो हुँदै जाला ।”

कुँवर जस्तै स्थानीय जनकल्याण कृषि सहकारी संस्थामा आवद्ध ४५ जना महिलाहरुले पशुपालनका लागि घुम्तीकोष मार्फत उक्त रकम पाएपछि पशुपालनबाटै जिविकोपार्जनमा बद्लाव ल्याउने अपेक्षा गरे । “हामी महिलाहरुको आर्थिक स्तर उकास्न केही हुन्छ कि भन्ने अपेक्षाले सहकारीमा लागेकी थिएँ”, कुँवरले भन्नुभयो, “गाई भैंसी पाले सबै खालको सहयोग गर्ने वचन पाउँदा साह्रै खुशी छु ।”

गुड नेइवर्स इन्टरनेशनल र किङ्ग वाउण्डेन फाउण्डेसन नामक विदेशी दातृ संस्थाको सहयोगमा यहाँको मिलन केन्द्र नेपाल नामक संस्थाले स्थानीय सहकारीहरु मार्फत पशुपालनमा सहयोग गर्दै आएको छ । यही क्रममा कुम्मायक–२ को जनकल्याण कृषि सहकारीबाट ४५ जना महिलाहरुलाई रु. ४० हजारका दरले घुम्तीकोषको रकम उपलब्ध गराइएको हो ।

ब्यवस्थित पशुपालनको सुरुआत गरे प्रत्येक कृषकले गोठ निर्माणका लागि रु. १७ हजार तथा रु. १० हजार अनुदान समेत पाउने भएपछि महिलाहरुमा खुशी छाएको हो । “भैंसी पालनमा अझै मेहनत गरेर राम्रो आम्दानी गर्छु भन्ने लागेको छ”, स्थानीय मञ्जुला लावतीले भन्नुभयो, “अहिलेसम्म यस्तो सहयोग पाएको थिइन् । अव घुम्तीकोष फिर्ता गर्ने मात्रै होइन्, परिवारले पनि राम्रो आम्दानी गर्छौँ भन्ने लागेको छ ।”

यहाँकी रुपा शेर्मा पशुपालन गरे फाइदा–फाइदा हुने सुनेर दङ्ग हुनुहुन्छ । “गाईभैंसीको दूध विक्री गर्ने जिम्मा हाम्रै सहकारी र मिलन केन्द्रले लिने रहेछ । गाईभैंसी पाल्न प्राविधिक जानकारी, उन्नत घाँसको विउ समेत पाइने रहेछ”, शेर्माले भन्नुभयो ।

जिल्लाको फाल्गुनन्द गाउँपालिकाका चार वटा वडामा सञ्चालित दूग्ध मूल्य श्रृङ्खला विकास परियोजना चरण–२ यस आर्थिक वर्षबाट कुम्मायक–२ तथा मिक्लाजुङ–५ मा विस्तार भएको हो । दुई वर्षदेखि परियोजना फाल्गुनन्द गाउँपालिकाका वडा नं. १–४ मा सञ्चालित छ । परियोजनाअन्तर्गत हालसम्म ३३५ कृषकहरुले घुम्तीकोषको रकम प्राप्त गरेको परियोजना सञ्चालक मिलन केन्द्र नेपालका अध्यक्ष बहादुरसिंह नेम्वाङले जानकारी दिनुभयो ।

यी कृषकहरुमध्ये १५० जनाले प्राविधिक सहयोग तथा ५५ जनाले रु. ५० हजार लागतको गोठ निर्माणका अनुदान रकम प्राप्त गरेका छन् । परियोजनाले पाँचथरमा हालसम्म चारवटा दूग्ध सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।

महिला कृषकहरुलाई कृम्तीकोषको रकम हस्तान्तरण गर्दै मिलन केन्द्रका सल्लाहकार समेत रहनुभएका संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले घुम्तीकोषको रकम न्यून ब्याजदरमा परिचालन हुने भएकाले कृषकहरुले ठूलो लाभ लिनसक्ने वताउनुभयो । “कृषकहरु आवद्ध सहकारीले नै ब्याजदर निर्धारण गर्न सक्छ”, नेम्वाङले भन्नुभयो, “घुम्तीकोष सधैँका लागि सहकारीमै रहने भएकाले सबै कृषकहरु ब्यावसायिक बन्ने मौका मिल्छ ।”

कृषकहरुलाई पशुपालनमा जोड्दै लैजान सके रोजगारी सिर्जना, मद्यपान सेवन, झै–झगडा लगायतका विकृति अन्त्य गर्न मद्दत पुग्ने उहाँको विश्वास छ । उत्पादित दूग्धजन्य सामग्री विक्रीको जिम्मा समेत परियोजनाले नै लिने भएकाले कृषकहरुले कुनै समस्या भोग्नु नपर्ने नेम्वाङको भनाई थियो ।

रकम हस्तान्तरण गर्दै कुम्मायक गाउँपालिकाकी उपाध्यक्ष सीता आचार्यले स्थानीय तहबाट हुन नसक्ने सहयोग तथा लगानी दातृ निकायबाट प्राप्त हुनु सुखद् रहेको भन्दै ब्यावसायिक पशुपालनका लागि गाउँपालिकाले समेत सहयोग गर्ने वताउनुभयो ।

जनकल्याण कृषि सहकारी संस्थाकी अध्यक्ष राधा निरौलाका अनुसार वि.सं. २०६३ सालमा स्थापित उक्त सहकारीमा ६०१ जना शेयर सदस्य छन् । सबै शेयर सदस्य महिला मात्रै छन् । उक्त सहकारीको कुल पुँजी रु. १ करोड ३ लाख रहेको छ । अध्यक्ष निरौलाले पशुपालन मार्फत महिलाहरुको आर्थिक विकासमा ठूलो बद्लाव आउने अपेक्षा गरिएको वताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्