असाेज-३, डेस्क । नेपालको संविधान जारी भएको पाँच वर्ष पुगेको छ । दोस्रो संविधान सभाले आजकै दिन अर्थात् २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो । यहि सम्झनामा प्रत्येक असाेज ३ गतेलाई संविधान दिवसका रुपमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिदै आएकाे छ ।

नेपालको संविधान २०७२ नेपालको तत्कालीन ‘संविधान सभा’द्वारा जारी गरिएकाे हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौँ संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ भदौ ३० गते यो संविधान दुई-तिहाई भन्दा बढी मतले पारित गरेको थियाे । 

यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्षबाट प्रमाणित गरिएको थियो । २०७२ असोज ३ गते नेपालका तत्कालीन राष्ट्रपति रामवरण यादवले हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो । यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन् । नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । तथापि नेपालको तराई क्षेत्रका केही जिल्लाहरू र केहि समुदायले याे संविधानले आफ्नाे आवाज समेट्न नसकेकाे भन्दै असन्तुष्टि पाेख्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्