असोज ३, याङ्वरकफोकस । कलाकार दयाहाङ राई हाब्रे(रेड पाण्डा) संरक्षण दूतमा नियुक्त भएका छन् । रेड पाण्डा नेटवर्कका राष्ट्रिय निर्देशक आङफूरी शेर्पाका अनुसार राई संरक्षण दूतमा नियुक्त भएसँगै दुर्लभ वन्यजन्तु हाब्रे(रेड पाण्डा)को संरक्षण र अवैध चोरीसिकारी विरुद्धमा जनचेतना जगाउने अभियानमा सहभागी हुनेछन् ।

देशको प्राकृतिक सम्पदाको रुपमा रहेको रेड पाण्डा वन्यजन्तुको संरक्षणमा सहभागी हुन पाएकोमा राईले खुशी व्यक्त गरे । रेड पाण्डा नेटवर्कका राष्ट्रिय निर्देशक शेर्पाले जारी गरेको विज्ञप्ति अनुसार राईसंगको सहकार्यबाट रेड पाण्डा संरक्षणको अभियान सफल हुनेमा बिश्वास व्यक्त गरेका छन् ।

विश्वकै दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु रेड पाण्डा नेपालको पुर्वी ग्रामीण क्षेत्रमा पाइन्छन् । रेड पाण्डा हेर्दा आकर्षक देखिने र लजालु स्वभावको, सोझो जन्तु तथा हलुका रातो, सेतो र कालो रङको हुन्छ । यो २ हजार मिटर भन्दा बढी उचाई पाइने गर्दछ । बाँसको तामा र निगालो रेड पाण्डाको मुख्य आहार हो ।

प्रतिक्रिया लेख्नुहोस्