छोरा

  • लुङ्माहिम काइँला

छोरा,
मैले बेसाहा बोकेर हिँड्दा
देउरालीभरि तिम्रो नाउँमा पाती चढाएर हिँड्थें ।
आज तिम्रो पालो
माथि यामाबुङ शिरबाट
एक डाेकाे भैरुङपाती चुँडालेर
मेरो चिहानमाथि बालिदिनू !

म नश्वर चोलाबाट
बादलुको बस्तीमा दूर जाँदा
तिमी बालखै थियाै
थाहा थिएन बाबाको स्मृति
अरुलाई सोधि रहन्थ्यौ रे
“मेरो बाबा कहिले आउनु हुन्छ?”
सुन्थेँ मैले पनि यो तिम्रो प्रश्न
तर अनुत्तर हुन्थेँ म
कारुणिक लाग्थे तिम्रा लवज
कति बीभत्स हुन्थे ती कोमल आत्मा
एकोहोरिन्थे नौनी जस्तो तिम्रो आँखा
ठोकिन्थे सँघारभन्दा बाहिर
आँगनको डिलमा।

सम्झिन्छु,
म कति निर्दयी तिम्रो पापा भएँ
सुटुक्कै त्यो माथि
नाम्सालिङ शिरको कालो बादलुमा
तिमीलाई नभनी बस्ती बसालेँ
अनि चियाई रहेछु असिम भाकामा।

हाय! तिम्रो भाग्य
अब जलाऊ भैरुङपाती र
अङ्कमाल गर तेही चिसो चिहानलाई।
अनि एक मुठी माटो उघाएर सुँघ
के त्यहाँ तिम्रो पापाको गन्ध थाहा पायौ?
दलिदेऊ छातीमा ती माटो
चिच्याउ”बाबा” भनेर बेस्कन
अनि तुर्क्याऊ अलिकति बिडम्बनाको आँसु।
समाऊ माथा र चिच्याई चिच्याई रोऊ
म जस्तै तिमी पनि रुन जन्मेको रहेछौ।
छोरा
आँसु रित्तिदैन कञ्जुस नगर झार्न।

सुन कथा !
एक साँझ तिमीलाई मझेरीमा
थाङ्नाले बेहेरेर सुताएपछि
कुपीकाे धिमा उज्यालोमा
म अनि तिम्रो मामु साउतीमा बोल्यौँ
साउतीकाे भाकामा बिछोडको धुन बज्यो
पिल्पिले उज्यालोमा आँसुहरु टल्किए
यगुडाँडाको पहरामा शीत टल्के जस्तै।
अँगालोमै बेरिएर प्रहरहरु निभे
त्यो आलिङ्गन बेदनाको रुखो प्रहार थियो।

बिछोड र निरासाको अग्राखमा
कल्पनाको मीठो गुथीसँगै भोलि बिहान
तिमी निदाएकै बखत तिम्रो निधारमा
एक चुम्मा दिएर सङ्घार नाघेर गएँ।
छोरा,
माथि देउरालीबाट फर्किएर हेरें
तर झिसमिसमा हाम्रो दरबार बिलाएकै थियो।
अनि भैरुङ चुँडेर तिम्रै नाममा देउरालीमा चढाएर
विवशताकाे पाइला हिँडेको म।

बिछोडको तितो बेसन बोके पनि
भावी सुनौलो आशा थियो ।
पुँगे सात समुद्रपारि
लेँखे चिट्ठी
बगाएँ पसिना
देँखे मीठो सपना
तर
छोरा
सुख फापेन जुनीमा
मलाई बिधाताले भेजो लगायो
शरिर दहन भो
निकम्मा भएँ
निरर्थक शिथिल ज्यानले
केवल तिमीलाई सम्झेँ
चिम्लें आँखा।
अन्तिम हुटहुटीमा क्यार सेतो बायुपङ्खी घोडा
म तिर हानिएर आयो
लग्यो बुई गरेर पुर्यायो अनन्त क्षितिजपारि
यमराजको सन्दुकमा।
यसरी
बज्रपातले खन्डहर बनायो नानू हाम्रो परिवार
अनि के भयो ? नसोध ।

त्यसपछि
दुई वटा काँचो बाँसमा
सेतो कफनले बेहेरेर
लाठेहरुले उचालेर काँधमा चढाए
अगर बत्तीकाे मुठो जलाएर यो डाँडामा पुर्याए
यत्ति सम्झना –
छातीमा फूलले हान्दै फर्किँदै थिए तिनीहरू ।
अन्तिममा दफन भयो चोला
खाल्डोभित्र तब बाँकीले
एक एक मुठी माटोले हिर्काएर
खाल्डो बुच्याए,
हो, त्यही दिनदेखि म यो बस्तीमा छु छोरा।

सुन्यौ कथा ?
छोरा
तिमीसँग बाबाको बिरासत छैन।
तिमीसँग त-
गहभरि आँसु होला
स्पन्दनमा क्रन्दन होला
पिडाको ज्वारभाटाले छाती थिचिएको होला
बीभत्स अतीतहरु होलान्
त्यसैले त
म नालायक पापा बनेँ।
तर तिमीमा सपना कोरेको छु
आशा कोरलेको छु
खोज तिम्रा भाग्यहरु
कतै
जुनकिरीले बोकेर हिंड्दैछे कि ?

छोरा
मुन्धुमको मन्त्रबाट तिम्रो माङ्गेन्ना भको छ
जाऊ सिङ्जाङ्गो फूल भाँचेर सुँघ
युमाको आशीर्वाद छ।
ती तिम्रो कारुण भावनामा
शान्ति जगाऊ !
चिम्ल आँखा र
निथार आखिरीआँशुका एक थोपा
चुहाव मेरो चिहानमाथि।
अनि नियाल आकाशको निलो धर्षाहरु।
म त्यही शिरको निल गगनबाट
तिमीलाई चियाई रहेछु-
अनन्त अनन्त अनन्तसम्म !

प्रतिक्रिया लेख्नुहोस्