६ असोज/  नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले चाँडै उडान भर्ने र बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने बताएका छन् ।

कोरोना संक्रमित क्याप्टेन लामा स्टार अस्पताल ललितपुरमा उपचाररत छन् । कोरोनाविरुद्ध दुई हप्तादेखिको लडाइँमा आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको उनले जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु ।

उनले लेखेका छन्, ‘रगतको नमूना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ ।

‘यो सामान्य रोग होइन’

क्याप्टेन लामाले यो सम्भव हुनुको पछाडि अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन् ।

कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मेरो विनम्र अनुरोध सबैमा बिन्ती छ, यो कोविडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामान्य रोग होइन । यसले ज्यान लिन सक्छ ।’

लामाले लेखेका छन्, ‘…आभारी छु तपाईंहरुको माया, साथ र प्रार्थनाको लागि । चाँडै उडान भर्ने छु र विदेशमा हुनु भएकाहरुलाई नेपाल फर्काउने छु अनि राष्ट्रप्रति समर्पित हुने छु ।

श्रोत अनलाईन खबर

प्रतिक्रिया लेख्नुहोस्