अनागरिक(कविता)

  • जानू काम्बाङ् लिम्बु

हल्लाहरू बिनाको शहर
कोलाहल बिनाको बस्ती
मैले भोगेको
हिजो र अस्ति भन्दा फरक परिवेश
सुनशान सडक
आवाजविहीन गाडीहरू माँझ उभिएर
म, बेहिसाब हल्ला गरिरहेछु ।

नबुझिने एक बथान अक्षरहरु
मेरो आखाँ ओरिपरि नाचिरहन्छन्
अनविज्ञ लाखौं आवाजहरू मेरो कान नजिकै
सल्बलाउछन्
अनौठा लाग्छन्, मलाई घुर्ने नयनहरू
अपरिचित लाग्छन् धर्ती र आकास पनि,

सोध्नु छ अल्लालाई
म अनागरिक हुनुको कारण
बुझ्नु छ बम, गोला र बारुदले
मेरो देश उडाईनुको कारण
खोज्नु छ मेरो अम्मि र अब्बुको सपना जल्नुको अर्थ ?

मेरा खेत र खोरियाहरू
मेरा गाउँ बेंसी अनि साथी संगीहरू
जस्तै मेरो देश र नागरिकता पनि
उही छुटेका हुन्
जुन दिन गोलि लागेर ढलेका
अम्मि र अब्बुको छाती टेकेर म भागेको थिए।

तातै थियो मेरो अम्मिको छाती
आलै थियो मेरो अब्बुको रगत
उही अम्मिको तातो छातीमा
मेरो भोक छुटेको हो
अब्बुको रातो रगतमा
मेरो परिचय छुट्यो

सिमाना नाघेपछि देश पनि छुट्यो ।
मेरो देशलाई फर्केर हेरें
अब्बुले भाग छोरा भाग भनिरहेथ्यो
अम्मिलाई हेरें,
आऊ अन्तिम पल्ट मेरो तातो छाती चुसेर जाऊ भनिरहेथ्यो

म उतैतिर दौडिएँ
तर, मलाई कसैले ताने पछिबाट
तेस्पछि, भएको हुँ, म अनागरिक
उही दिनदेखि म सडकमै छु,
यहि उभिएर
आफ्नो देश खोजिरहेछु ………………।

ताप्लेजुङ हाल : बेलायत
(१० असाेज/२०७७)

प्रतिक्रिया लेख्नुहोस्