व्यवहार – लघुकथा

✍️राजु क्षत्री अपुरो

खेल खेलिसकेर हामी पैदल नै आएको देखेर हाम्रा प्रशिक्षकले आफ्नो मोटरसाइकल रोक्दै भन्नू भयो, “पछाडी बस भाइहरू, म पुर्याइदिन्छु। “
हामी उनको बाइकको पछाडि बस्यौँ । मेरो घर आएपछि मैले बाइक रोक्न लगाएँ । म सँगै अभ्यास गर्ने भाइलाई लिएर उहाँ अगाडि बढ्नु भयो।
दैनिक अभ्यास गर्न जाने ती भाइको आवास अलि पर पर्थ्यो । उनका बाबा सरकारी जागिरे थिए र केही दिन पुर्व मात्र सरुवा भएर आएका थिए। उनी फुटबलमा रुचि राख्दथे र स्कुलबाट फर्किएपछि अभ्यासका लागि मैदानसम्म पैदल नै जान्थ्यौँ ।आउँदा थाकेका हुन्थ्यौँ ।कसैले लिफ्ट दिएपनि हुन्थ्यो नि भन्ने भित्री मनले बोलेको कुरा हाम्रा प्रशिक्षकले पुर्याइदिएका थिए। हामी उनलाई दाजु भनेर सम्बोधन गर्थ्यौं ।
गफ्फिंदै अभ्यासमा जाने क्रममा एकदिन ती स्कुले भाइले खुशी हुँदै भनेका थिए। “हामी अरु थुप्रै सहरमा नि बस्यौं , तर यहाँका मान्छेहरूसित छिटै घुलमिल भयौँ । अझ प्रशिक्षक दाजु त कस्तो राम्रा मान्छे! मलाई खुब माया गर्नुहुन्छ । मेरो बुट फाटेको देखेर यो नयाँ बुट किनिदिनु भयो। मलाई छोड्ने बेलामा कहिलेकाँही हाम्रो घर पसेर बाबा आमालाई भेट्नु हुन्छ। चिया खाँदै गर्दा मेरो खुब तारिफ गर्नुहुन्छ। भन्नुहुन्छ कसैले हेपे मिचेमा मलाई भन्नु है। “
अचेल ती भाइ निकै उदास देखिन्थे। मसँग पनि त्यति खुलेर बोल्दैनथे। प्रशिक्षक दाजुपनि हामीलाई देखेर पनि नदेखे झै गरि आफ्नो बाइक हुइँकाउँथे । अभ्यास कै क्रममा पनि अलि चर्को बोली र रुखो व्यवहार गर्न थालेका थिए।
प्रशिक्षक दाजुको परिवर्तन भएको व्यवहार देखेर मैले ती भाइलाई सोधेँ – “अचेल उहाँ तिम्रो घर कत्तिको आउनुहुन्छ नि ?”
भाइले भने, “दुई हप्ता जति भयो। उहाँ हाम्रो घरमा आउनु भएको छैन।”
दुई हप्ता पहिला त
ती भाइको दिदीले अरु कसैसँग लभ म्यारेज गरेकी थिइन्, दाजुको परिवर्तन भएको व्यवहारको कारण बुझ्न मलाई त्यति दिमाग खियाउनु परेन।

********************************************

1 COMMENT

प्रतिक्रिया लेख्नुहोस्