याङवरकफोकस टीम

२७-असोज, २०७७ । वर्षौं देखि दशैमा पाँचथरको याङवरक गाउपालिका वार्ड नं.-४ थर्पूमा लाग्दै आएको निशान मेला यो बर्ष नलाग्ने भएको छ । विश्वमा फैलिएको कोरोनाको महामारीका कारण यो बर्षको निसान मेला नलाग्ने भएको हो । जनस्वास्थ्यलाई मध्यनजर गर्दै यो वर्षको मेला स्थगित गरिएको गाउपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए । मेला नलाग्ने भएसंगै मेलामा गरिदै आएका सम्पूर्ण कार्यक्रमहरू नगरीने भएको छ । निसान मेला अवधिभर मनोरञ्जनात्मक कार्यक्रम, केलाङ(च्याब्रुङ नाच), निसान मेला गोल्डकप(खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता), भलिबल(महिला/पुरुष), रोटेपिङ, हाउजी लगायतका विविध खेलहरु पनि नहुने भएको हो । तर विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को मापदण्डलाई पालना गर्दै १० जना भन्दा कम्तीको टोलीले विधिवत रुपमा निसानलाई लुगा फेरिदिने र पुजाआजा गरी बलि भने दिईने निसान व्यवस्थापन समितिले जनाएको छ । निसान मेला लगाईदै आएदेखि इतिहासमै पहिलो पल्ट यस्तो भएको हो ।

के हो निसान, यो कहिले देखि र किन नचाईन्छ?

निशान विशेष ध्वजा पतकाले सुसज्जित झण्डा जस्तै हुन्छ । हरेक वर्षको दशैंका बेला नौरथा सुरु भए देखि विषेश पुजा आज गरी महानवमीका दिन निशान निकाल्ने र प्रदर्शन गर्ने गरिन्छ । याङवरकमा दुईवटा निशान छन् । याङवरकका अलावा तेह्रथुममा एउटा तथा धनकुटामा ९ वटा निशान छन् । धनकुटामा भएका ९ वटा निशानलाई हरेक वर्षको दसैँको सप्तमी तिथि अर्थात् फूलपातीको दिन प्रदर्शन गरिन्छ । विभिन्न पुराना हातहतियारसहित धनकुटाको निशान देवी मन्दिरबाट विषेश पूजाआजा गरी नेपाली सेना र प्रहरीको सलामीपछि धनकुटाको टुँडिखेलमा पुर्याएर पूजाआजा गर्ने गरिन्छ । धनकुटामा रहेका ९ वटा निशानमध्ये एउटा जंगी निशान, श्रीजंग पल्टनका ४ वटा र ईन्द्रध्वज गणका ४ वटा रहेका छन् । श्रीजंग पल्टन अहिले रामेछाममा छ भने ईन्द्रध्वज गण झापामा रहेको छ । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका–३ ताङ्खुवामा नगरा, हातहतियार सहितका २ वटा निशान  छन् । यस्तै, अर्को तेह्रथुम जिल्लाको छथर गाउँपालिका–६ सुदापमा एउटा तथा ताप्लेजुङ्गको सिरिजंघा गाउँपालिका-१ सिनाममा पुराना हातहतियार र नगरासहितको निशान छ । निशान हरेक वर्षको नवमीका दिन प्रदर्शन गरेपछि कुटीमा राखिन्छ । वि.सं. १९४० सालमा चैनपुरबाट रणोद्वीपसिंह राणाको पालामा धनकुटा लिम्बुवान हेर्ने गौडा सरेपछि वि.सं. १९४२ सालदेखि निशानको पूजाआजा गर्न थालिएको जानकारहरु बताउँछन् । यता, याङवरकको निशान भने सबै भन्दा पुरानो ईतिहास बोकेको निशान मानिन्छ । याङवरकमा श्रीकम्पु र श्रीजंगी गरी दुईवटा निशान छन् । २ ओटै निशानलाई हरेक वर्ष बडादशैंको नवमीका दिन प्रदर्शन गरिनुका साथै नचाउने पनि गरिन्छ । नचाउदै छुट्टाछुट्टै मौलोमा मार हानेर भोगचलन दिईन्छ । श्रीकम्पु निशान राजा राजेन्द्रबिक्रम शाहको शासनकालमा वि.सं.१८८० मा याङवरकका सुब्बा मतवलसिं माबोले बुझेको स्थानीय सुब्बाहरु बताउँछन् । श्रीजंगे निशान भने राजा सुरेन्द्रबिक्रम शाहको शासनकालमा वि.सं.१९१२ मा सुब्बा बागदल माबोले बुझेको बताइन्छ । उक्त निशान ती सुब्बाहरुलाई मालपोत तिरो बुझ्ने अधिकार सहित शाह राजाहरुले प्रदान गरेको जानकारहरु बताउछन् । बाजागाजा, बन्दुक, विभिन्न हातहतियारहरु पनि निशानकै साथमा बुझिलिएका हुन् । बुझिलिनेमा श्रीकम्पु तर्फ १३ थरीका २२ सुब्बा र श्रीजङ्गी तर्फ १६ थरीका ५२ सुब्बा रहेका छन् । निशान खास सैन्य सुरक्षा गुल्म जस्तै सिमा सुरक्षाको लागि दिइएको जानकारहरु बताउछन् ।

निशानको किन पुजा गरिन्छ?
विगत लामो समयदेखि पुजारीको जिम्मेवारी सम्हाल्दै आएका बल बहादुर माबोका अनुसार निसान पुजा गर्नलाई दिईएको नभएपनि विभिन्न मनोकाक्षाकासाथ यो आएकै वर्षदेखिनै पुजाआजा गर्न थालिएको हो । निसान थानमा विभिन्न देवी-देवताहरुको पुजाआजा गरिदै आएको छ । अझैपनि निसान पूज्नाले तथा निसान ढोग्नाले मनले इच्छाएको कुरा पुराहुने विश्वास रहिआएको छ । यहि विश्वासका साथ वर्षेनी हजारौं भक्तजन तथा मेला भर्न आउने सर्वसाधारणको भीड लाग्ने गर्दछ ।

मेलामा कतिको भीड लाग्छ त? के निसान मेलालाई जिल्लाकै ठूलो मेलाको रुपमा लिन सकिन्छ?

निसान मेलाको ऐतिहासिकता केलाउने हो भने यो जिल्ला मात्र नभएर अञ्चलकै पुरानो तथा ऐतिहासिक मेलाका रुपमा लिन सकिन्छ । यहाँ विभिन्न मनोकाक्षाका साथ याङवरक गाउपालिका आसपासका क्षेत्र, पाँचथर आसपासका जिल्ला तथा भारतको सिक्कीम, दार्जिलिङसम्मका सर्वसाधारणको उपस्थिति रहने गरेको गाउपालिकाका अध्यक्ष घिमिरे बताउछन् । सर्वसाधारणको उपस्थितिलाई हेर्ने हो भने यस्लाई जिल्लाकै ठूलो मेला मान्न सकिने स्थानीय पर्यटन व्यवसायीहरुको दाबी छ । यातायातको सहजता बढेसंगै निकट भविष्यमा पहाडी क्षेत्रमा प्रदेशकै ठूलो मेला बन्न सक्ने सम्भावना बोकेको मेलाको रुपमा चित्रण गर्न थालिएको छ ।

अर्को वर्षदेखि बलि नचढाईने तथा निशानलाई संग्राहलय बनाएर राखिने

Photo Oct 13, 2020 53322 AM.jpgविगतका वर्षमा दुई निसानका लागि छुट्टाछुट्टै रागाको बली चढाईदै आएकोमा २०७५ चैत १५ गतेदेखि तीन दिनसम्म थर्पुमा सञ्चालन भएको सुब्बाहरुको सम्मेलनले आउने बर्ष अर्थात् २०७८ देखि बली नचढाउने निर्णय गरेको छ । जनस्तरबाट विरोधका आवाज उठ्न थालेपछि यो वर्षलाई अन्तिम मानेर अर्को वर्षदेखि मार नहान्ने निर्यण भएको सम्मेलनबाट गठित समितिका सचिव महेन्द्र सेलिङले बताए । त्यस्तै, प्रत्येक दशैंको नवमीका दिन प्रदर्शन गरेपछि सुब्बाहरुले पालै पालो राख्ने गरिएका श्रीकम्पु र श्रीजङगी निशानलाई अब संग्राहलयमा राखिने भएको छ । घर–घरमा निशाना राख्दा खर्च हुने गरेकोले त्यसको जिम्मेवारी लिएका लिम्बूहरुको आर्थिक अवस्था कमजोर बनाएको निष्कर्ष निकाल्दै अब संग्राहलय निर्माण गरेर संग्रहित गरिन लागिएको सेलिङले बताए ।

भिडीयोमा निशान मेला

 

प्रतिक्रिया लेख्नुहोस्