असोज-२७, सुनसरी । सामाजिक सञ्जाल ईमो मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भन्दै नगद ठगी गरेको अभियोगमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन् । सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

कामतिले शनिबार राति ईटहरी उपमहानगरपालिका-२ का २५ वर्षीय पुरुषलाई ईमोबाट फोन गरी तपाईँ २०२० को ईमो लट्रि विजेता भई २५ लाख भारतीय रुपैयाँको हकदार हुनुभयो भनेका थिए । विजेता बनेपछि पूरा रकम पाउनलाई नेपाल सरकारलाई ट्याक्स वुझाउन भनि आईएमईबाट अरबिन्द्र कुमार कामतीको नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा सो रकम पाएको केही समयपछि चेकमा सही गर्ने अधिकृतलाई समेत नेपाली ५५ हजार रुपैयाँ दिनुपर्ने भएको भन्दै सोही नाममा पठाउन लगाएको अनुसन्धानबाट खुल्नमा आएको छ । कामतीलाई आइतबार आइएमईबाट रकम लिई हिँडेको अवस्थामा सिरहाबाट प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्