दुर देशमा ( कविता )

✍️सुमन “सहयात्री” योङ्हाङ

तिमी जस्तै म पनि
पछ्याउँदै-पछ्याउँदै
मिठो सपनाहरू
टाढा, धेरै टा…ढा
आएको छु
यो अपरिचित सपनाको देशमा ।

यो जहाज यतिबेला
म जस्तै सपनाको भारी बोकेका
थुप्रै मानिसहरूको गह्रुँगो भार बोकेर
बेपत्ता उडिरहेछ बादल र बतास चिर्दै
सपनाको देशहरूमा पुगेर
थप सपनाहरू चड्दै-ओर्लँदै जानेछन्
गन्तव्यको स्वप्न सहरमा पुगेर पनि म
आफ्नै सपनाको उर्जाले सक्रिय हुनेछु र जोगाइराख्नेछु यी प्रीय सपनालाई ।

चिरपरिचित सबथोक टाढा हुँदै गए
आफ्नै जन्मस्थानको बतासले छुन छोड्यो
आमा भन्दै भक्कानिएँ
तर आवाज बिलायो हावामै
मेरा सबथोक छुटे
म निरीह भइरँहे
यतिखेर म
मलाई नै उचाल्ने सपना

आफ्नाहरूको यादमा दुख्ने मुटु बोक्ने
आफैं जिउँदो जहाज बनेको छु ।

जहाजबाट तल
छल्किरहेको देख्छु
अर्बौं मान्छेका आँसुले बनेको
निलो पिडाको बिशाल समुन्द्र
बादलमा लुकामारी खेल्ने
मेरा गाउँहरूको केही पत्तो छैन
मैले बिदाइको हात हल्लाएपछि
मेरो दिमागभरी मडारिएको कालो बादल
झर्‍यो पानी भएर आँखाका डिलबाट
यो घडी म
बिरानो ठाउँमा यादहरूको पहाडमा छु
सम्झानाका सिरेटोले
चसचसी घोचिरहेछन मेरो कमजोर मुटु
निस्सासिँदै गैइरहेछ
नजिकै सुनिने एकोहोरो कर्कस धुन
आमा सम्झिएर
हरेक श्वासमा हुन्छ केबल ऐठान
श्वास मिस्सिन्छ त्यही चिसो सिरेटोमा
अनि बिलाउँछ मलाई पनि छोडेर
हराउँछ शुन्यमा ।

यो सपनाको देशमा
के सपना लिएर म आइपुगे खै …?
बरु हराएका आफ्नै सपना खोजी रहेछु
जसले पुरीदिनेछ हाम्रा आदिम घाउहरू
ढाकिदिनेछ नाङ्गो आङ
र, मुस्कुराउनेछन कलिला ओठहरू ।

सपनै सपनाको पहाड बोकेर
दुर देशमा
सपना खोज्दाखोज्दै
म आफै सपना भँए भने
कसले देख्ला मेरा
यी सपनाको शृङ्खला ?

********************************************

प्रतिक्रिया लेख्नुहोस्