समीकरण जिन्दगीको ( कविता )

✍️सुमित्रा ‘अश्रुधारा’ थुलुङ

हिसाबकिताब त जहिले पनि
गणितमा मात्रै हुन्छ
नाफा घाटामा मात्रै हुन्छ
भौतिक कारोबार मा मात्रै हुन्छ
र स्वार्थमा मात्रै हुन्छ

यहाँ हुने भए मन भत्किएको
यहाँ हुने भए मुटु चोइटिएको
मलम मिल्थे होला
दुखेका मुटु हरुको पनि
कास हुने भए
आशुहरुले राहात पाउथे
कास हुने भए
चोइटिएको मन हरुको पनि
घट्ने थिए
बजारिया क्याल्कुलेटर हरुको भाउ

कहिलेकाही मलाई
ए प्लस बि घोकाउने मास्टर
कहिलेकाही मलाई
परिमिती सिकाउने मास्टर्नी
र गेट बाहिर निस्कनु नदिने
पाले हरु संग
खुब गुनासो लाग्छ
जब कि
जिन्दगी को परिमिती नै
मैले आज नाप्न जानिरहेको छैन
र फेरि पनि थुनिएकी छु म गेट भित्र
बेहिसाब कारोबार हरुमा

रटाइ रटाइ आज पनि
थुप्रैपटक घोकाइन्छ नि
स्कुल हरुमा
त्यस्तै-त्यस्तै गणित को सुत्र हरु
अङ्ग्रेजी को ब्याकरण हरु

मलाई किन मिलाउन आएन
समयको ह्रस्व र दीर्घ
मलाई किन मिलाउन आएन
परिस्थितिको समीकरण गर्न
मैले किन सकिरहेको छैन आज
परिस्थितिको हल गर्न

सायद जिन्दगी को हिसाबकिताबमा
सबैभन्दा कमजोर भए म
न मलाई आयो अभिनय गर्न
न आयो मलाई झुटो नाटक गर्न
न आयो मलाई
बास्तबिक धरातल बाहिर जान
न जाने मैले
केही कदम स्वार्थमा हिड्न
र हर कोहि चढिरहे
खुड्किला बनाएर मलाई
म जहाँ को तहि
र पुगिरहे जो कोहि
धेरै पर धेरै माथी
र हारिहे म सधैं सधै
नमिलेर जिन्दगीको समीकरण
समीकरण जिन्दगीको

********************************************

प्रतिक्रिया लेख्नुहोस्