कार्तिक १४, याङ्वरकफोकस / दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।

कोरोना महामारीको डरले जन्मथलो फर्केका किसन फेरि कर्मथलोमा फर्कनु बाध्यता भएको बताउँछन् । ‘आफ्नो बारीको उत्पादनले खान पुग्दैन, नेपालमा रोजगारी छैन,’ उनले भने, ‘कामका लागि भारत पस्नु बाध्यता हो ।’

१५ वर्षदेखि बरौलीमा सुरक्षागार्डको काम गर्दै आएका किसनको परिवार पनि सँगै बस्दै आएको छ । अरू वर्ष दसैं मनाउन असोजमा घर आउने गरेका किसन तिहारपछि फर्कन्थे । यो वर्ष भने कोरोना संक्रमणबाट बच्न गत असारमै घर आएका थिए । ‘कोरोनाको डर अब यहाँ पनि उत्तिकै छ,’ उनले भने, ‘आफ्नो सुरक्षामा ध्यान पुर्‍याएर कर्मथलोमै जानु उचित ठानेर फर्कन लागेका हौं ।’ भारतमा कमाएको पैसाले घरमा बस्नेहरूको गुजारा चल्ने गरेको उनले बताए ।

आमा, बुबा, दाजु, भाइ, बहिनीलगायत ११ जनाको परिवारको मियो हुन् उनी । ‘उनीहरू मेरै कमाइको भरोसामा छन्,’ उनले भने, ‘आफूले भारतमा कमाएको पैसाले जहानपरिवारको घर खर्च चल्छ ।’ उनीसँगै गाउँका १७ जना बरौली, मुम्बईलगायत भारतीय सहरमा जाँदै छन् । उनीहरू बुधबार घरबाट निस्केका हुन् ।

सरकारले रोजगारी गुमाएर घर फर्केकालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे पनि कोरोना कहरबीच बिदेसिइरहेका युवाले भने कुनै जानकारीसमेत नपाएको गुनासो गरेका छन् ।

गाउँमा रोजगारी नभएको र भारतका सबैजसो ठाउँमा काम पाइने, रासन सस्तो हुने र ज्याला पनि राम्रो भएकाले आफूहरू वर्षौंदेखि उतै गइरहेको उनीहरू बताउँछन् । ‘गएको वैशाखमा मुम्बईबाट घरमै केही गर्नुपर्छ भनेर फर्केको थिएँ,’ कैलाली टीकापुरका दानबहादुर विकले भने, ‘घरमा पाँच कट्ठा जग्गाको खेतीले खान पुग्दैन । सरकारबाट केही सहयोग पाए तरकारी खेती गरेरै पनि खान पुग्थ्यो होला । यता त्यस्तो केही भएन ।’

चालु आर्थिक वर्षमा प्रदेशका विभिन्न मन्त्रालयअन्तर्गत स्वरोजगार कार्यक्रमका लागि करिब ५ करोड बजेट विनियोजन गरिएको सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले बताए । तीमध्ये केही कार्यक्रम सञ्चालनसमेत भइसकेको मन्त्री बोहराले बताए । सरकारी अनुदान र सहुलियतका कार्यक्रम साधारण किसानका लागि नभएर पार्टी कार्यकर्ताका लागि मात्रै आउने गरेको लम्की चुहाका अर्जुन परियारले गुनासो गरे ।

कैलाली मोहन्याल–७ का तीर्थराज जोशी पनि परिवारसहित भारतको बेंग्लोर जान लागेका छन् । उनी पनि असारमै घर आएका थिए । ‘दसैंको टीकासम्म पर्खियौं,’ उनले भने, ‘हामी त उतैका मान्छे जस्ता हौं । उतै कमाउनु छ, उतै खानु छ । बचेपछि यता पठाउने हो ।’

डडेलधुरा परिगाउँका प्रकाश धामीसहित ६ जना युवा पनि नाकाबाट भारत छिर्दै थिए । उनीहरूले यहाँबाट गएर तुरुन्तै घरमा पैसा पठाउन सके मात्रै परिवारले तिहार मनाउन पाउने बताए । बर्दिया राजापुरका १५ जनाको समूहमा रहेका रमेश सुनुवारले गरिबीका कारण बैंग्लोरमा काम गर्न जान लागेको बताए । ‘भारतमा नेपाली केका लागि जान्छन्, किन जान्छन्को एउटै उत्तर हो– गरिबी र बेरोजगारी,’ उनले प्रतिप्रश्न गरे, ‘बरु आउने–जाने समस्या के छ, त्यो सोध्नुहोस् ।’

कैलालीको लम्की राजपुरका ज्ञानश थापा परिवारसहित भारतको पुने सहर जान लागेका छन् । ६ जना गाउँले पनि साथमै छन् । उनीहरूले पनि आफ्नो परिवार भारत आश्रित भएको बताए । ‘भारत नगए जीवन चल्दैन,’ उनले भने, ‘नेपाल त आफ्नो देश भन्नमात्रै हो । यहाँ हामीसँग न खान पुग्ने जमिन छ न त रोजगारी ।’

नेताहरूका कारण गरिबी र बेरोजगारी बढेको माओवादीका पूर्वलडाकु अछाम साँफेबगरका कमल साउदको गुनासो छ । ‘देश बनाउने योजना कोहीसँग छैन, क्रान्तिका नारा लगाएर सत्ताको भर्‍याङ बनाएका नेताहरू झन् खराब निस्के, अनि कसरी बन्छ देश ?’ उनले ज्यान र जहान पाल्न भारतमा नोकरी गर्न जानुपरेको सुनाए । कर्णाली प्रदेश सरकारले समेत जनताका लागि राजनीति नगरेको आरोप उनले लगाए । भारतमा कामका लागि जाने नेपालीहरूलाई देशमै रोजगारी दिलाएर विदेशिनबाट रोक्न सरकार असफल भएको उनको ठहर छ । ‘मुख्यमन्त्रीज्यूले हामीजस्ता भारत पस्नेको पीडा बुझ्नुभएको छ तर उहाँले पनि जनताका लागि राजनीति गर्नुभएको छैन,’ उनले भने ।

सशस्त्र प्रहरी बलको गौरीफन्टा सीमा चेक पोस्टका असई शंकर बोगटीका अनुसार बिहीबार मात्रै १ हजार ७ सय ८७ जना नेपाली भारततर्फ लागेका छन् । बुधबार यो संख्या १ हजार ६ सयभन्दा बढी थियो । दसैंको टीकापछिका ३ दिनमा ३ हजार ५ सय जनाभन्दा धेरै नेपाली यो नाका हुँदै भारत पसेका छन् । ( कान्तिपुरमा प्रकाशित समाचार )

प्रतिक्रिया लेख्नुहोस्