याङवरक/ नयाँ गन्तव्य’का रुपमा विकास भइरहेको तिम्बु पोखरी लक्षित सडक निर्माण शुरु भएको छ । पाँचथर र ताप्लेजुङको सीमा क्षेत्रमा पर्ने सो पोखरीसम्म पुग्न अहिले कम्तीमा दुई दिन पैदल यात्रा गर्नुपर्छ । पैदलयात्रा गर्नुपर्ने कम्तीमा आधा बाटाेमा सडक विस्तार गर्ने योजनाका साथ निर्माण शुरु भएको हो ।

याङ्वरक गाउँपालिका वडा नं १ टोड्केबाट सडक निर्माण शुरु भएको छ । उच्च पहाडी क्षेत्र, कडा चट्टान तथा घना जङ्गल छिचोल्दै सडक निर्माण थालिएको हो । गत आर्थिक वर्षमा प्रदेश सरकारबाट विनियोजित बजेटबाट टोड्केदेखि माथि गोरुजुरेसम्म ५.३६० किलोमिटर साधारण मार्ग निर्माण पूरा भएको छ । टोड्केसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ । रु ४१ लाख ४४ हजार ५७५ को लागतमा शुरुआती सामान्य मार्ग निर्माण भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।

पर्यटक एवम् तीर्थयात्रीबाट प्रशस्त लाभ लिन सकिने भए पनि यहाँ त्यस प्रकारको पूर्वाधार र संरचना निर्माण हुन सकेका छैनन् । तिम्बु पोखरी लक्षित सडक निर्माणको पहल गर्दै आउनुभएका याङ्वरक–१ का अर्जुन बेघाका अनुसार याङ्वरक–२ मा पर्ने पहाडेमेगू भन्ने स्थानसम्म सडक विस्तार गर्ने योजना बनाइएको छ । उक्त स्थानबाट एकै दिनमा तिम्बु पोखरी दर्शन गरेर सोही स्थानसम्म फर्कन सकिन्छ । “यो सडक निर्माण पूरा गर्न सकिए लामो पदयात्रा गर्न नचाहने वा नसक्नेहरु समेत तिम्बु पोखरी पुग्न सक्छन्”, बेघाले भन्नुभयो, “अहिले तिम्बु पोखरी पुग्न चाहने कतिपय पर्यटक पदयात्रा धेरै लामो भएकै कारण नआउने गरेको सुनेका छौँ ।” छोटो पदयात्रा र उच्च पहाडमा रोमाञ्चक सडक यात्राले धेरैलाई आकर्षित गर्नाका साथै स्थानीयवासीले ठूलो आम्दानी लिन सक्ने बेघाको ठम्याइ छ ।

याङ्वरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङ्हाङ प्रदेश सरकारबाट क्रमागत रुपमा बजेट प्राप्त हुने भएकाले सडक निर्माण क्रमशः अघि बढ्ने वताउनुहुन्छ । “सरकारले नयाँ पर्यटन गन्तव्यका रुपमा घोषणा गरेकाले यहाँ सरकारी बजेट सुनिश्चित भएको छ”, योङ्हाङले भन्नुभयो । तिम्बु पोखरी १०० नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषित भएको छ । यहाँ ताप्लेजुङको कालीखोला क्षेत्रबाट समेत सडक, सहज पदमार्ग तथा अन्य पूर्वाधार निर्माणका काम शुरु भएका छन् ।

तिम्बु पोखरी लक्षित सडक निर्माण शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । गोरुजुरेमा गाईगोठ राखेका भक्तराज बेघा उक्त सडक निर्माणले पर्यटकको संख्या बढ्ने बताउनुहुन्छ । पर्यटकको संख्या बढेसँगै स्थानीयवासीले रोजगारी पाउने र स्थानीय उत्पादनले मूल्य पाउने उहाँको अपेक्षा छ । तिम्बु पोखरी जाने अधिकांश आन्तरिक पर्यटक बेघालगायत गाई, भेंडा तथा चौरीपालकका गोठमा बास बस्ने गर्छन् । “यहाँ आउने धेरै मानिसले लामो समय हिँड्न कठिन भएको र आधा बाटो सम्म भए पनि सडक निर्माण हुनुपर्ने बताउँछन्”, बेघाले भन्नुभयो, “सडक तथा अन्य पूर्वाधार नहुँदा पदयात्रीले दुःख पाउने गरेका छन् ।” आफ्नो गोठमा वर्षेनी १०० भन्दा बढी पदयात्री बास बस्ने गरेको सुनाउँदै बेघाले सडक र अन्य पूर्वाधार निर्माण भए स्थानीयवासीको आयआर्जन वृद्धिमा ठूलो मद्दत मिल्ने र स्थानीयवासीले नयाँ पेशा व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुभयो ।

याङ्वरक–१ चित्रेका नरबहादुर बेघा पहाडेमेगूसम्म सडक पुग्न सके पर्यटकको संख्या वृद्धि हुने बताउनुहुन्छ । “यहाँ धेरै लगानी गरिए धेरै आम्दानी पनि हुन्छ”, बेघाले भन्नुभयो, “बस्ने ठाउँ छैनन् । राम्रोसँग खान, बस्न नपाई चारपाँच दिन हिँड्नुपर्ने बाध्यता छ अहिले ।” तिम्बु पोखरी विशेषतः आन्तरिक पर्यटक तथा तीर्थयात्रीको आकर्षणमा पर्ने गरेको छ । चार हजार ४८० मिटर उचाइमा रहेको तिम्बु पोखरी सुन्दर प्राकृतिक छटा, अत्याकर्षक भूबनोट, सामुन्ने कुम्भकर्ण हिमाल देखिने र पोखरी नै पोखरी रहेको क्षेत्र हो । यहाँसम्म पुग्ने बाटो उच्च पहाड, ठुल्ठुला चट्टान एवं भीर पहरा, समथर फाँट, चाँैरी र भेडापालन, विभिन्न प्रकारका प्राकृतिक फूलका फूलबारी, अध्ययन र खोजी नै नभएका जडिबुटी तथा लोपोन्मुख वन्यजन्तु पाइने हुँदा झनै आनन्ददायक हुने गर्छ । यही कारण पर्यटक वर्षेनी बढ्दै गएको याङ्वरक–१ हर्कटेका तारावीर राईको भनाइ छ । “विदेशी पर्यटकसमेत भित्र््याउन सकिन्छ भन्ने हाम्रो अपेक्षा छ”, राईले भन्नुभयो, “सडक निर्माणलाई निरन्तरता दिइनुपर्छ भन्ने हाम्रो माग छ । अलि प्रशस्त बजेट छुट्टिए राम्रो हुन्थ्यो ।” तिम्बु पोखरी क्षेत्रको प्रवद्र्धनले पूर्वको पर्यटन विकासमै ठूलो मद्दत गर्ने राईको भनाइ छ ।

याङ्वरक–१ च्याङथापूका व्यवसायी गंगाराम गौतम तिम्बु पोखरीको प्रचार र प्रवद्र्धनका लागि थप पूर्वाधार आवश्यक रहेको औँल्याउनुहुन्छ । “एक त यो स्थान पर्यटकका लागि आकर्षक छ भने पुग्नैपर्ने धार्मिकस्थलका रुपमा पूर्वमा प्रचारित पनि छ”, गौतमले भन्नुभयो, “जानुपर्छ भन्ने थाहा भएर पनि जान नसेकका पर्यटकलाई ल्याउन सडकसहित अन्य संरचना निर्माण गर्नुपर्छ ।” यस वर्ष कोभिड–१९ सङ्क्रमणको जोखिम र महामारी रहे पनि पर्यटकको संख्या उल्लेख्य पाइएको गौतमको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्