कार्तिक २२, २०७७।एजेन्सी

अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन्

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो ।

जितका लागि महत्त्वपूर्ण मानिएको पेन्सलभेनियाको मतपरिणाम आएसँगै बाइडेनले जितका लागि आवश्यक २ सय ७० इलेक्टोरल भोटको आँकडा पार गरेका हुन् ।

यो जितसँगै बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् ।

बाइडेनले आफूलाई अमेरिकी जनताले नेतृत्वको जिम्मेवारी दिएर सम्मानित गरेको लेखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई भोट दिने र नदिने सबै अमेरिकी जनताको राष्ट्रपतिका रूपमा काम गर्ने पनि उनले उल्लेख गरेका छन् ।
अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि मतदान भएको थियो । यो निर्वाचनमा सन् १९०० पछिका राष्ट्रपति चुनवमा सबैभन्दा बढी मतदान भएको बताइएको छ ।

राष्ट्रपतिमा विजयी बाइडेनले यो निर्वाचनमा ७ करोडभन्दा बढी भोट प्राप्त गरिसकेको र यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै भोट नपाएको बीबीसीले लेखेको छ ।

रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति ट्रम्पले भने आफूले जितेको भनेर ट्विट गरेका छन् । उनले आफू पराजित भएमा कानुनी लडाइका लागि अदालत जाने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्