कार्तिक, २८ याङ्वरकफोकस / स्विस सरकारको सहयोगमा पाँचथरको दक्षिणी क्षेत्रका चार गाउँपालिकामा प्रदेश सहयोग कार्यक्रम सञ्चालनमा आएको छ ।

जिल्लाको कुम्मायक, फाल्गुनन्द, मिक्लाजुङ र तुम्बेवा गाउँपालिकामा सो क्षेत्रबाट निर्वाचन प्रदेशसभा सदस्य एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा कार्यक्रम सञ्चालन भएको हो ।

प्रदेश र स्थानीय सरकारबीच रणनीतिक साझेदारी अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । ‘प्रदेश सहयोग कार्यक्रम’ अन्तर्गत साझेदारीका परियोजना छनोट गर्ने, विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै यसको कार्यान्वयन गर्ने रहेको छ ।

कार्यक्रमको लागि एकीकृत गाँउ विकाश रणनीतिक योजना तर्जुमा सम्बन्धि गोष्ठी फाल्गुनन्द र कुम्मायकमा सम्पन्न भएको छ । मिक्लाजुङ र तुम्बेवा गाउँपालिकामा तत्काल प्रशिक्षण शुरु गरि कार्यक्रम कार्यान्वयनको प्रक्रिया अघि बढाइने स्विस अन्तर्राष्ट्रिय विकास सहयोग (एसडीसी) प्रदेश सहयोग कार्यक्रमका प्रबन्धक बिष्णु पुरीले जानकारी दिएका छन् ।

फाल्गुनन्द गाउँपालिकाले आयोजना गरेको कार्यक्रम (एसडीसी)को वित्तीय सहयोग तथा गभर्नेन्स एण्ड डिजाइन सोलुसन (जिडिएस) नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । कार्यक्रममा जिडिएसको तर्फबाट टिम लिडर सहजकर्ता विके महर्जन, कृषि अर्थशास्त्री ऋषिराम कट्टेल, योजनाविद् मण्डु अधिकारी, सहयोगी विनु लुईटलको टोलीले सहजीकरण गरेको थियो ।

दिर्घकालिन सोचसहित विषयगत रणनीतिक योजना, राजश्व सुधार, मध्यकालीन खर्च संरचनाको आवधिक योजनाबारे प्रस्तुतीकरण साथै पालिकाको वस्तु स्थिति (सवल⁄कमजोर) पक्ष, अवसर र चुनौती विश्लेष्ण समूह कार्य, समष्टिगत लक्ष्य, विषयगत उद्देश्य, रणनीति र प्रमुख कार्यक्रमको अवधारण प्रस्तुत गरिएको थियो । गाँउपालिकाको स्थानीय स्रोत संकलन टिममार्फत निर्माणधिन पाश्र्वचित्रको महत्वपूर्ण तथ्यांक र सुचना प्रस्तुत गरिएको थियो ।

गोष्ठीले “समृद्ध फाल्गुनन्दः कृषि, पर्यटन, पूर्वाधार र सु–संस्कृत समाज” को नारासहित ‘कृषिमा व्यावसायिकरण, पर्यटन प्रबर्द्धन, पूर्वाधार विकास र स्वच्छ वातावरण कायम गर्दै सर्वसुलभ गुणस्तरीय प्राविधिक शिक्षा र आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउने तथा सुशासनको प्रत्याभूति गरि समतामुलक र सु–संस्कृत समाज निर्माणतर्फ उन्मुख हुँदै दिगो विकासमा जोड दिने २५ वर्षको लक्ष्य निर्धारण गरेको छ । मध्यकालिन खर्च संरचनाका सूचक निर्धारण, गाँउ गौरव आयोजनाको पहिचान र सहमतिको गृहकार्य लगायत विषयवस्तुबारे तत्काल कार्यपालिकाको वैठक बसेर यसको ठोस निर्णय सम्वन्धित निकायमा पेश गर्ने गाउँपालिका प्रमुख वीरबहादुर कुरुम्वाङले जानकारी दिएका छन् ।

कार्यक्रममा संविधानसभा सदस्य आइन्द्रसुन्दर नेम्बाङले फाल्गुनन्द गाँउपालिका कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने स्थानीय तहमध्ये प्रवल संभावना रहेको बताउँदै महागुरु फाल्गुनन्दको समाधिस्थल तथा तपोभूमि भएकाले यस ठाँउलाई पर्यटन प्रबर्द्धनको माध्यमबाट आर्थिक उन्नति गर्न सकिने बताए ।

गाउँपालिका अध्यक्ष कुरुम्वाङले आगामी दिनमा प्राविधिक ज्ञानसहितको आवधिक योजना निर्माण गरिने बताएका छन् । उत्पादनमूलक,आर्थिक विकास, पर्यटन प्रबर्द्धन गर्ने, जनताको जीवनस्तर माथि उठाउने, रोजगारी प्रबर्द्धन गर्ने, गरीबी न्यूनीकरण गर्न स्थानीय स्रोत साधनको अधिकतम उपयोग र भू(उपयोगलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

स्बीस सरकारको सहयोगमा यो कार्यक्रम उदयपुर र संखुवासभामामा पनि सञ्चालनमा रहेको छ । स्थानीय तहको दीर्घकालीन सोच र पञ्बर्षिय आवाधिक योजना स्विस सरकारको सहयोगमा निर्माण हुनेगरि कार्यक्रम सञ्चालन भएको हो ।(यस समाचार हाम्रोमत डटकममा प्रकाशित भएको छ)

प्रतिक्रिया लेख्नुहोस्