कार्तिक-३०, डेस्क । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज(आइतवार) गोवर्द्धन र आत्म (म्ह)पूजा गरी मनाईदै छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।
द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । आजै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।
त्यस्तै, नेवार समुदायमा आज म्हः (आत्म) पूजा गरिदै छ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायमा आफ्नो म्हः (आत्म) पूजा गरी मनाइन्छ ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको विश्वासका साथ म्हः पुजा गरिन्छ । आत्मालाई सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

प्रतिक्रिया लेख्नुहोस्