मंसिर-१, डेस्क । हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज(सोमवार) भाइटिका लगाएर मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।

आज मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि बिहान ११:३७ मा उत्तम योग रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।

भोलि अर्थात् मंसिर २ गते बिहान ७:०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले आज मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही संस्थाले मंसिर २ गते भाइटीका मनाउने निर्णय गरेका छन् । त्यसैले सरकारले मंसिर २ गते पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्