मङ्सिर २, याङ्वरकफोकस / हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ पर्न थालेको छ । माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन् ।

दिउँसोदेखि निरन्तर हिउँ परेपछि मनाङमा चिसो बढेको छ । मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार सोमबार दिउँसोबाट हिउँ परिरहेको छ । मनाङको माथिल्लो क्षेत्रमा बढी र तल्लो क्षेत्रमा केही मात्रामा हिउँ परेको उनले बताएका छन् । मनाङमा पहिलो पटक ठूलो मात्रामा हिउँ परेको र चिसो बढ्न थालेको बताए । ‘गाउँघरमा बस्तीमै हिउँ परेको छ । डाँडाकाँडा हिउँले ढाकिएको छ । चिसो बढ्दैछ’ उनले भने, ‘चिसोले जनजीवन प्रभावित हुन थालेको छ ।’

मनाङको माथिल्लो क्षेत्रमा बढी मात्रामा हिउँ परेको स्थानीयले बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका, नार्पाभूमि गाउँपालिकाका गाउँबस्तीमा भने धेरै मात्रामा हिउँ परेको छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार सोमबार दिउँसोबाट परेको हिउँले जनजीवन प्रभावित हुन थालेको छ । चिसो बढ्न थालेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने हुम्डे, मनाङ, ङावल, घ्यारुलगायतका ठाउँमा हिउँ परेको उहाँले बताउनुभयो । स्थानीयका अनुसार माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीका अनुसार सोमबारबाट मनाङमा हिउँ परिरहेको छ । दुई हजार ८०० मिटरदेखि माथिका क्षेत्रमा हिउँ परिरहेको हो । गिरिका अनुसार माथिल्लो क्षेत्रका केही बस्तीमा करिव दुई फिटसम्म हिउँ जमेको छ । हिउँ पर्न थालेपछि चिसो बढेको र मनाङको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्