मंसिर ३ /युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्पेनले जर्मनीलाई ६-०ले हराएको छ । नेपाली समयअनुसार बुधबार बिहान आफ्नो घरेलु मैदानमा भएको खेलमा स्पेनले पाहुना टोली जर्मनीलाई ६–० को फराकिलो र एककपक्षीय हारको चोट दिएको हो । स्पेनको जितमा युवा स्टार फेर्रान टोरेजले सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिक गोल गरे ।

स्पेनले पहिलो र दोस्रो हाफमा ३–३ गोल गरेको थियो । पहिलो गोल खेलको १७औं मिनेटमा अल्भारो मोराटाले गर्दा खेलको ३३औं मिनेटमा टोरेजले व्यक्तिगत पहिलो गोल गरे । त्यसपछि ३८औं मिनेटमा रोड्रीले गोल थपेपछि पहिलो हाफमा स्पेन ३–० ले अघि रह्यो ।

त्यसपछि खेलको ५५औं मिनेटमा दोस्रो गोल गरेका टोरेजले ७१औं मिनेटमा अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा स्पेन ५–० को स्थितिमा पुगेको थियो । त्यसछि खेलको ८९औं मिनेटमा मिकेल ओयारजबालले अर्को गोल थपेपछि खेल स्पेनले ६–० ले जित्यो ।

अब यो जितसँगै स्पेन आफ्नो समूहबाट समूह विजेता बनेर अर्को चरण प्रवेश गरेको छ भने जर्मनी समूह चरणबाटै आउट भएको छ । अर्को चरण जान स्पेन र जर्मनी दुवैका लागि अन्तिम खेल निर्णायक रहेको थियो, जसमा स्पेनले बाजी मार्न सफल भयो । स्पेनले कूल ११ अंक बनायो भने दोस्रो स्थानको जर्मनीले ९ अंक बनायो । तेस्रो स्थानको युक्रेनले ६ अंक बनायो । चौथो स्थानको स्वीट्जरल्यान्डको खातामा ३ अंक छ ।

प्रतिक्रिया लेख्नुहोस्