“गाउँ फर्किरहेको परदेशी” कविता

✍️सयपत्री थुलुङ

शरद ऋतुको एक हिउँद
चिसिदै गरेको मध्यरात
जून खुल्दै गरेको शिशु आकाश
बुकी फूल फुल्दै गरेको धरती
तुषारापातले खादै गरेको
एकथान श्यामश्वेत सपना
अक्षांश देशान्तरको बक्ररेखामा
प्रताडित बबुरो जुनकिरी
मनोवादको मानचित्र कोरिरहेछ
जिन्दगीको अमूर्त क्यान्भास भित्र
अनुवाद गर्न बाँकी अनिदो रात
आँखाभरि ईन्द्रेणी रङ पोतेर
आएकी हुँ “म” सात समुन्द्रपारी
ममताको आँचल धरौटी राखेर
केही थान खुशी खोज्न ।
“म”
यसरी छाडेर हिडेकी हुँ
आमा र देश–
मुटु निचोरेर रङ सापट दिएकी हुँ
चन्द्र सूर्य ध्वजालाई, फर्कने बाचाका साथ
आँखाको बाँध छेकेर फेवाताल बनाएकी हुँ
ताजै छ सम्झनाहरू
चाउरीदै गरेको आमाको मलिन अनुहार
चिराचिरा धाँजा फाटेका बा’का पैताला
पाठशाला गईरहेको सन्तानको रित्तो झोला
र टिफिनमा हुने रित्तो ओठ ।
सम्झन्छु–
तुसारा खसिरहने ती हिउँदे रातहरुमा
आमाको चिरा परेका पैताला
बा’को फाटेको भोटो, कछाड
उहाँहरूको जुत्ता जस्तै खुट्टा
अनि खुट्टा जस्तै खुट्टा, कति भाग्यमानी
सदा प्यारले माटोको स्पर्श गरिरहन्छ
हाम्रा खुट्टा बुख्याँचाको झैं निर्जीव
न आजसम्म माटोको स्पर्श थाहा छ
न आफू जन्मेको माटोको सुगन्ध थाहा छ
यी सबै सबै मेरो आँखै अघि घुमिरहन्छ,
जसरी घुमिरहन्छ पलपल आयु नापेर
घडीका सकेन्ड काँटा, मिनेट काँटाहरू
तर पनि घडीलाई कुनै थकान हुँदैन ।
सम्झन्छु–
कहाँ पुग्यो होला कटुसको आगोमा
भोक संगै माया भुटिरहेका आफन्तहरू
हरेक साँझ जूनताराले चिह्याउने
ती छाप्रोहरुमा झर्छ, झर्दैन हिजोआज
चिसा जूनताराहरु शीत बनेर
तुसारालाई अंकमाल गर्दै
कि टालिए सान्तवनाको बदियाँले
फाटेका पुतली पाखाहरू
डाडा भाटा भेल्सीहरू
सबै सबै एकतमास सम्झन्छु
र आफुलाई चाही बिर्सन्छु ।
जरूर–
केही थान पसिना बेचेर
केही थान सपना धितो राखेर
केही यादहरुमा बाँचेर फर्किनु छ
आफ्नै आमाको काख
आफ्नै प्रिय मातृभूमी/देश
र भन्नु छ चिच्याउदै, संसारले सुन्नेगरी
“जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी”
त्यसैगरी–
मुस्कान सजाउनु छ कलिला ओठहरुमा
अनि फर्कनु छ, सदा सदाका लागि
साँझ माहुरी घारमा फर्के जस्तैगरी
आमा, आफन्त र देश सम्झिएर
शरद ऋतुको एक हिउँद
पारिलो घामको किरण छर्दै
गाउँ फर्किरहेको परदेशी
सायद “म” नै हुने छु ॥

*******************************************

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) को आयोजना र सिटि एक्सप्रेस मनि ट्रान्सफर जापानको प्रायोजनमा भएको “तेस्रो जापानव्यापी खुला कविता प्रतियोगिता” मा पुरस्कृत “गाउँ फर्किरहेको परदेशी” कविता

प्रतिक्रिया लेख्नुहोस्