धर्मको महलमा ‘किरात’ लेख्न चुम्लुङको अपिल, युमा साम्यो भन्छ ‘युमा’ लेखौं

373

मंसिर-९, डेस्क । २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा जातजाति, मातृभाषा र पुर्खाको भाषामा ‘लिम्बु’ र धर्मको महलमा ‘किरात’ लेख्न लिम्बु समुदायसँग किरात याक्थुङ चुम्लुङले अपिल गरेको छ । सोमवार एक अपिलपत्र जारी गर्दै चुम्लुङले राजनीतिक तथा सांस्कृतिक आन्दोलन अघि बढाउनका लागि समेत तथ्यांक महत्वपूर्ण हुने भन्दै अब हुने जनगणनामा जात/जाति र मातृभाषाको महलमा हालसम्म स्थापित तथा परिचित ‘लिम्बु’ नै लेख्नुपर्ने उल्लेख गरेको छ । चुम्लुङका अध्यक्ष योगराज लिम्बु वनेमद्वारा हस्ताक्षरित ३ पेजको अपिलपत्रमा राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक अधिकार प्राप्तिका लागि जनसंख्या एक आधारभूत पक्ष रहेकोले जनगणनामा संख्या घट्ने वा घटाउने खालका कुनै तर्क वा बहसमा नलाग्न अपिल गरिएको छ ।

युमा साम्यो महासभाद्वारा जारी अनुरोधपत्र ।

यता लिम्बु समुदायको अर्को संस्था युमा साम्यो महासभाले भने जातजातिको महलमा ‘याक्थुङ’ मातृभाषा तथा पुर्खाको भाषामा ‘याक्थुङ’ नै लेख्नुपर्ने तर्क गरिरहेको छ । युमा साम्योले यसअघिनै एक अनुरोध पत्र जारी गर्दै धर्मको महलमा ‘युमा’ लेख्न तथा लेखाउन आग्रह गरेको हो । तुतु तुम्याहाङ एवं याक्ला सुहाङ्माहरूको मार्गनिर्देश र सुपरिवेक्षणमा पेगिफाङ्साम (फेजिकुम फेदाङ्मा, सावाला साम्बा, सिभाकयामी, युमासाम, सिङ्साङ्गे फेरेङ्गे, खदुमाङ आदि)द्वारा परापूर्वकालदेखि नाहाङ्मा, माङ्गेन्ना, तङ्सिङ, ताप्फेङ, चासोक थिसोक, युमाङ आदि पूजा–पुकार अनुष्ठानहरू सम्पन्न गर्ने–गराउने सम्पूर्ण सावा येत्हाङ सुसु लिलिम थिबोङ याक्थुङ्सा लगायत अन्य विभिन्न जनसमुदायहरूको धर्म युमा भएको युमा साम्योको तर्क छ । साथै दोस्रो भाषामा खस नेपाली वा अन्य लेख्न/लेखाउन पनि आग्रह गरेको छ ।

यसरी एउटै समुदायको दुई छुट्टा-छुट्टै संस्थाले फरक फरक विचार ल्याएपछि जनसमुदायमा भने के लेख्ने अन्योलता छाएको छ । २०६८ सालको जनगणनाको तथ्यांक अनुसार नेपालमा लिम्बुहरुको जनसंख्या ३ लाख ८७ हजार ३ सय भन्दा बढी छ । जनसंख्याको आधारमा लिम्बुहरु १४ औं स्थानमा छन् । नेपालमा किरात धर्म मान्नेहरुको संख्या भने ३.१ प्रतिशत मात्र देखिएको छ । किरात धर्म नेपालको धर्महरुमा चौथो स्थानमा छ । तर ‘युमा’ धर्म र जातजातीमा ‘याक्थुङ’ भने पहिलो पल्ट लेखाईदै छ । यसरी ‘किरात’ कि ‘युमा’ तथा ‘लिम्बु’ कि ‘याक्थुङ’ भन्ने तर्कसंगै लिम्बु समुदायको तथ्याङ्कमा विभाजित देखिने निश्चित छ ।

1 COMMENT

प्रतिक्रिया लेख्नुहोस्