मङ्सिर ११, याङ्वरकफोकस / जुन उद्देश्यले गण्डकी विश्वविद्यालय स्थापना र सञ्चालन गर्न खोजिएको थियो, त्यसको जग नबस्दै आरोप प्रत्यारोपको श्रृंखला सुरु भएको छ । ‘प्रदेशमा उत्पादन र उत्पादकत्व वृद्धि गरि प्रदेशलाई औधोगीकरणमा लैजान सघाउने उच्चस्तरको दक्ष जनशक्ति उत्पादन गरि शिक्षालाई बजारसँग जोड्ने’ उद्देश्य राखेर सुरु गर्न खोजिएको यो प्रदेश गौरवको आयोजना सुरु नहुँदै विवादित बन्न पुगेको हो ।

विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्ने भनेर यो विश्वविद्यालयमा कुलपति पनि छुट्टै नियुक्त हुने व्यवस्था ऐनमा नै गरिएको छ । कुलपति नै नियुक्त हुने यो नेपालकै पहिलो विश्वविद्यालय पनि हो । तर, नामका अगाडि प्रा.डा. र डा. जोडेका व्यक्तिहरु नै अहिले स्तरहीन आरोप प्रत्यारोपमा उत्रिएका छन् । राजनीतिको गन्ध नआओस भनेर ऐन अनुसार नियुक्त भएका कुलपति प्रा.डा. गणेशमान गुरुङलाई अखिल र नेविसंघको जस्तो राजनीति गरेको आरोप लागेको छ ।

विवादको मुख्य जड भनेको गत कात्तिकको २६, २७ र २८ गते न्यासिक परिषद्को बैठक र सो बैठकले गरेको परिषद्को अध्यक्ष चयनको विषयमा हो । गण्डकी विश्वविद्यालय सम्बन्धि ऐनले विश्वविद्यालयको सर्वोच्च निकायको रुपमा न्यासिक परिषद् रहने व्यवस्था गरेको छ । ऐनको दफा अनुसार, परिषद्मा कुलपति, विभागीय मन्त्रालयको सचिव र सरकारले नियुक्त गरेका १५ जना सदस्य रहने व्यवस्था छ ।

सोही १५ जना सदस्यमध्येबाट नै न्यासिक परिषद्को अध्यक्षको नियुक्ती हुन्छ ।

कात्तिक अन्तिम साताको बैठकले तीनै न्यासिक परिषद् सदस्यमध्येबाट डा. दिनेशचन्द्र देवकोटालाई अध्यक्षमा चयन गर्यो । तर, बैठकले अध्यक्ष चयन गर्दाको प्रक्रियामाथि असहमति जनाउँदै ६ जना न्यासिक परिषद्का सदस्यले राजीनामा दिए । अनि सुरु भयो, बौद्धिक थलोका व्यक्तिहरुको स्तरहीन आरोप प्रत्यारोप ।

जुन प्रक्रियाबाट न्यासिक परिषद्का अध्यक्षको नियुक्ती भयो त्यसको केही समयमा नै परिषद्का सदस्य तथा योजना आयोगका पूर्वाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले राजीनामा दिए । १३ सदस्यीय परिषद्का ६ जना सदस्यले राजीनामा नै दिए । धेरैको मत छ, ‘कुलपतिले मनोमानी ढंगले अगाडि बढ्नुभयो, न विधी छ न कुनै प्रक्रिया । यसले गलत नजीर बस्छ ।’

कुलपतिले ‘नन्सेन्स’ कुरा गर्नुभयो

अध्यक्ष चयनपछि सुरुमा राजीनामा डा. जगदीशचन्द्र पोखरेलले दिएका थिए । उनले नै राजीनामा दिएपछि थप ५ जनाले कुलपति गुरुङलाई राजीनामा पठाए ।

६ जनाको राजीनामा आइसकेपछि कुलपति गुरुङले भने, “सबै शान्त थिए, उहाँ (जगदीशचन्द्र पोखरेल)ले उकासेको अनुभव भयो मलाई ।”

कुलपतिको यो भनाइप्रति डा. पोखरेलले कडा आपत्ति जनाएका छन् । उनले भने, “उकास्नुभयो भनेर भन्नुभयो भने उहाँले नचाहिँदो कुरा भन्नुभयो, छोटो बुद्धि देखाउनुभयो । उहाँकै नचाहिँदो बकवासले नै यो सब भएको हो ।”

कुलपतिकै कारणले यो अवस्था आएको र आफ्नै मान्छेलाई अध्यक्ष बनाउनुथियो भने यतिविधी नाटक गर्न नहुने उनले बताएका छन् ।  “उहाँको पार्टीले उहाँलाई फलानो मान्छेलाई अध्यक्ष बनाउनुपर्छ भनेर निर्देशन दिएको थियो भने उहाँले नाटक गर्न जरुरी थिएन । यी सब बेकारका कुरा हुन् । उहाँको बुद्धिले त्यही भेटेछ, उहाँको स्तरको मान्छेले त्यो भन्नुभएछ,” उनले भने ।

कुलपति गुरुङले भने परिषद्मा केही कांग्रेसका पनि रहेको र उनीहरुको नियुक्ती आफूलाई मन नपरेको बताएका छन् । “केही कांग्रेसका पनि थिए, कसरी आइपुगे म पनि सहमत थिइँन,” उनले भने । यता, पोखरेलले भने यही आरोप लाग्छ भनेर नै राजीनामा दिइसकेपछि पनि कसैसँग ‘कम्युनिकेसन’ नगरेको बताएका छन् ।

“को हो दिनेश देवकोटा भन्दा कम्युनिष्ट पार्टीको बुद्धिजिवी परिषद्को अध्यक्ष, मुख्यमन्त्री पनि कम्युनिष्ट, उहाँ आफैं चान्सलर हुनुहुन्छ, भाइस चान्सलरमा रामपुर कृषि क्याम्पसबाट ल्याउनुभयो । हामीले केही भनेनौँ । हामीलाई किन राखेको त ? मलाई एकदम दुःख लागेको छ । म व्यक्तिगत तरिकाले राजीनामा दिएको हुँ, उहाँले त्यसलाई राजनीतिक तरिका देख्नुभएछ । म किन बस्नु परेको छ त्यहाँ ? के उहाँहरुको रबरस्ट्याम्प हुन ? सानो मर्यादा दिनुपथ्र्यो । उहाँले जे भन्नुहुन्छ त्यही गर्नलाई ? फलानो पनि थियो भनेर देखाउनको लागि ?” उनले प्रश्न गरेका छन् ।

हामी ‘हलीगोठाला’ होइनौँ

राजीनामा दिने अर्का व्यक्ति हुन, डा. तीर्थ थापा । उनै थापाको नेतृत्वमा गण्डकी विश्वविद्यालयको प्रारम्भिक सम्भाव्यता अध्ययन कार्यदलमा बसेर सरकारलाई प्रतिवेदन बुझाइएको थियो ।

तर, उनी पनि कुलपतिको व्यवहारदेखि सन्तुष्ट छैनन् । “अध्यक्ष नियुक्तीको प्रक्रियाले विश्वविद्यालय जस्तो पवित्र संस्थामा मोनोपोली गरेर कुलपतिले नियुक्त गर्नुभयो यो मान्य छैन भनेर अरु सदस्यले भन्नुभयो । तर, कुलपतिज्यूले सुन्दै सुन्नुभएन । मैले पनि राजीनामा दिएँ, उहाँको डरलाग्दो र गाली गरेको जवाफ आयो,” उनी भन्छन् ।
“एकदमै गाली गरेर, उहाँको घरमा काम गर्न राखेको हली गोठाला झैँ गरेर गाली गरेर गैह्रजिम्मेवार भइस्, विश्वविद्यालयको सदस्यको हैसियतले कसरी बस्छस् ? भन्नेखालको इमेल लेख्नुभएको रहेछ । एकातिर अध्यक्षको छनोट नै प्रक्रिया अनुसार भएन, अर्कोतिर उहाँको बलमिच्याईँ । बोर्ड अफ ट्रष्टिज प्रति गरेको व्यवहारले  मलाई पनि बस्न मन लागेन । बोर्डको सदस्य भएर नै सेवा गरौँ भन्ने लागेको थियो । सुरुमा अलिकति देन पनि गरेको,” उनले भने, “कार्यविधी बनाएर नियुक्त गरौँ, पछिलाई नजीर पनि हुन्छ भन्ने कुरा त सामान्य मान्छेले पनि बुझ्ने कुरा हो । यसले त बोर्ड अफ ट्रष्टिजको कार्यकुशलता नै देखिँदैन नि । विधी नअपनाई गर्दा ।”

“नेपालको परिवेशमा त राजनीतिक परिवेश वा कुनै संघसंस्थामा केही व्यक्तिले राजीनामा दिए भने सामुहिक दिने, व्यक्तिले दिएपनि सल्लाह गरेर दिने हुन्छ नि, यहाँ त मैले कसैलाई राजीनामा दिन्छु भनेको पनि थिइँन, कसैले दिन्छु भनेर मलाई भनेका पनि थिएनन् । कसैले कसैसँग कुरा गरेको पनि होइन, राजीनामा दिइसकेपछि कसैको कसैसँग कम्युनिकसेन पनि छैन । एक त हामी सबै अपरिचित थियौँ,” उनी अगाडि थप्छन्, “मुख्यमन्त्रीले घरमा नै आएर कुलपति र अध्यक्षलाई सहायता गर्नुपर्यो भन्नुभयो । मैले राजीनामा दिइसकेको छु, फिर्ता लिने पक्षमा छैन भनेँ । कुलपतिको कार्यशैली व्यवहारिक र परिपक्व देखिएन, सौहाद्र देखिएन, अध्यक्ष चयन पनि बलजफ्ती भयो भनेर भनेँ ।”

डा. सुमित्रा मानन्धर गुरुङ पनि अध्यक्ष नियुक्तीको प्रक्रिया व्यवहारिक र प्रक्रियामुखी नभएको स्विकार्छिन् । “व्यवहारिक र प्रक्रियामुखी भएन, जुन उद्धेश्यले मुख्यमन्त्रीले योजना सुनाउनुभएको थियो, सो अनुसार नै भएन । न कुनै प्रक्रिया छ, न विधी । त्यहाँ बसेर के गर्नु ?” उनले प्रतिप्रश्न गरिन् ।

विधीसम्मत नै छ, ऐन अनुसार नै भएको छ

कुलपति डा. गणेशमान गुरुङ भने राजीनामाको कारणबारे आफूलाई थाहा नभएको बताउँछन् ।

उनको भनाइको संक्षिप्त अंश

राजीनामा किन दिनुभयो, मलाई थाहा छैन । म कुलपति भएको हिसाबले ऐनमा भएको जिम्मेवारी कार्यान्वयन गरेको हुँ । उहाँ जेठमा आउनुभएको हो, अध्यक्ष चुन्ने कुरा नै गर्नुहुन्न, त्योबाट त म पन्छिन पर्याे नि । असोज २४ को बैठकको तेश्रो नम्बरको एजेण्डामा दसैं तिहारको बिचमा बैठक राख्ने र अध्यक्षको चयन गर्ने भनेका थियौँ ।
उहाँहरु कोरोना देखेर तर्सिनुभयो, म आफैं काठमाण्डौ आउँछु बैठक राखौँभन्दा सहमति दिएपछि जावलाखेलको शालिग्राम होटेलमा बैठक बस्ने भनेका थियौँ ।

स्वास्थ्य सामाग्री पनि पर्याप्त थिए । मैले तपाईंहरुमध्येबाटै सहमति गरेर एउटा नाम दिनुस् भनेको थिएँ, काइकुइँ गर्नुभयो । अनि मैले तपाईंबाट सहमति भएन, कुलपतिले नाम प्रस्ताव गर्छ त्यसमा अनुमति दिनुहोस् भनेँ । आखिरमा विश्वविद्यालय नै बनाउने हो ।

एक महिनाको समय थियो, सहमति नभएपछि निर्वाचनमा जाने कुरा भयो । अधिवक्ता गोपीकृष्ण न्यौपानेले निर्वाचनको प्रक्रिया अगाडि बढाउनुभएको हो ।

मनोनयनमा डा. दिनेशचन्द्र देवकोटाको मात्रै नाम पर्यो, त्यसमा नै सहमति भयो । सबैलाई समेटेर लान्छु भनेर भन्नुभयो । कुलपतिजीलाई मैले सहयोग गर्छु, सबै सदस्यको भावना एकीकृत गर्छु भनेर बोल्नुभयो । मैले निर्वाचन सकियो, अर्को बैठकमा सबै सहभागी हुनुहोला भनेँ । सबैले जुममा सहभागी हुने भन्नुभयो ।

तर, बेलुका जगदीशजीको मेल आयो, मैले उहाँलाई तपाईंजत्तिको पाको मान्छे, नयाँ विश्वविद्यालय खोलौँ भनिएको छ, राजीनामा फिर्ता लिनुहोस् भनेको थिएँ । उहाँले शान्त रहेका सबैलाई उकासेको मलाई अनुभव भयो ।

पछि, सुमित्रा, राममनोहर, प्रतिभा पाण्डे गर्दागर्दै ६ जनाको राजीनामा आयो । १३ जनामध्येमा ६ जनाको राजीनामा आएको छ । मैले व्यक्तिगत रुपमा केही समय विचार गर्नुहोस्, फिर्ता गर्नुहोस् भनेको छु । धेरै विश्वविद्यालय छन्, यो नौलो छ सबै मिलेर काम गरौँ भनेको हो ।

भ्रष्टाचार हुँदैन, म लोकसेवा बसेको हुँ, विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पनि भएँ, अरबौं रकम बाँडेर बसेको मान्छे हुँ, भ्रष्टाचार हुँदैन भनेको थिएँ । विश्वास दिलाएको थिएँ । छलफल भएका थिए । तर, राजीनामा फिर्ता भएको छैन ।
के को टीओआर चाहिन्छ ? सकेसम्म सहमति गराउने हो, नभए निर्वाचनमा जाने हो । १३ जना सदस्य छन्, सबै अध्यक्ष हुन सक्छन् नि । १३ जनाकै हैसियत समान हो । हामीजस्तो व्यक्तिले लोकतन्त्रको अभ्यास गरेको हो । मौन सहमति जनाउने अनि प्रक्रिया खोज्ने ?

त्यत्रा विद्वान, डाक्टर, प्रोफेसर छन्, उनीहरुलाई मैले लतार्छु त ?

यो जमानामा, यो खालको सर्कलमा सहमति नहुनु नै दुर्भाग्य हो । अनि चुनावमा जाँदा कुलपतिले पेल्यो भन्नु अर्को दुर्भाग्य हो । जगदीशजीलाई मैले लिखित रुपमा नै राजीनामा फिर्ता गर्नुहोस् भनेको थिएँ, अरुलाई मौखिक रुपमा भनेको हुँ ।

केही कांग्रेसका पनि थिए, कसरी आइपुगे म पनि सहमत थिइँन । पहिलो बैठकमा नै मैले अध्यक्षता गर्दा तीर्थ थापाले कुलपतिले अध्यक्षता गर्नु वैधानिक हो कि होइन भन्नुभएको थियो, मैले वैधानिक नभए किन बस्नुभएको छ भनेको थिएँ ।

यिनीहरुले भन्दा मैले नेपालमा खिल खाएको मान्छे हुँ नि, यिनीहरुले देश विदेश खाएका होलान्, तर यहाँको रियालिटी त मलाई थाहा छ ।रासस

प्रतिक्रिया लेख्नुहोस्