मङ्सिर १५, याङ्वरकफोकस / प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०२० सोमबारबाट तेस्रो चरण ( साम्केलो केलो केवाफुङ ) मा प्रवेश गरेको छ । याक्थुङ हाक्पारे साम्लो सजुमको आयोजना तथा सेवारो टि.भि.को मुख्य प्रायोजन रहेको यस हाक्पारे प्रतियोगिता गत असार २५ गतेबाट सुरू भएको हो ।

प्रतियोगिताका निर्णायक रैथाने संगीतका खोजकर्ता तथा गायीका झुमा लिम्बुले सेवारो टि.भि.को फेसबुक पेज मार्फत सोमबार लाइभ हुदै दोस्रो चरण (साङ्गापोबा फुङ्गापोबा) बाट तेस्रो चरण (साम्केलो केलो केवाफुङ) मा प्रवेश हुने १५ जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरेका छन् ।

दोस्रो चरण ( साङ्गापोबा फुङ्गापोबा ) बाट तेस्रो चरण (साम्केलो केलो केवाफुङ) मा प्रतियोगी नम्बर ३ युक्पारुङ केदेम, प्रतियोगी नम्बर १२ गरिमाया लिम्बु, प्रतियोगी नम्बर ७३ शिवकुमारी माख्यिम तुम्सा, प्रतियोगी नम्बर ८१ मुक्ति इधिङ्गो, प्रतियोगी नम्बर १०६ देश थलङ, प्रतियोगी नम्बर १४१ काजीमान माबो, प्रतियोगी नम्बर १४२ शान्तिराम खरेल, प्रतियोगी नम्बर १६६ ललिता केदेम लाबुङ्ग, प्रतियोगी नम्बर १८२ थानाहाङ तिगेला, प्रतियोगी नम्बर १८६ अम्बर जङ्ग केदेम, प्रतियोगी नम्बर १२२ लक्ष्मीकुमारी आङ्देम्बे, प्रतियोगी नम्बर ८ इन्द्र बहादुर योङ्हाङ, प्रतियोगी नम्बर २३६ उदिहाङ तुम्खेवा, प्रतियोगी नम्बर ४४ भिमा सावदेन र प्रतियोगी नम्बर २ निलिमा साम्पाङ प्रवेश भएका छन् ।

“साम्केलो केलो केवाफुङ” चरणमा प्रवेश गर्ने प्रतियोगीले अब इक्सा खाम्बेक पोक्मा मुन्धुम, फुङ्वा चाङ्मा मुन्धुम र यङ्घङ वहङ पोक्मा मुन्धुम मध्ये एक मुन्धुममा रहेर हाक्पारे गाउनुपर्ने भनी निर्णायक लिम्बुले लाइभ मार्फत बताएका छन् ।

इक्साहाङ चेम्जोङको संयोजकत्वमा संचालन भईरहेको यस कार्यक्रमले कला, संस्कार, संस्कृति र पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्य लिएको बताईएको छ । गैरलिम्बु समुदायले पनि भाग लिन पाउने यस कार्यक्रममा जम्मा २४० जना प्रतियोगी सामेल भएका थिए । २४० प्रतियोगी बाट दोस्रो चरण ( साङ्गापोबा फुङ्गापोबा ) मा ४० जना छानिएका थिए । प्रतियोगितामा गैरलिम्बु साथै छिमेकी देश भारतबाट पनि प्रतियोगीहरु सहभागी छन् ।

उक्त प्रतियोगिताको विजेताले ५५ हजार, उप-विजेता हुनेले ३० हजार तथा तृतीयले २० हजार रुपैयाँ हात पार्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस्