मङ्सिर १७, याङ्वरकफोकस / पाँचथरको मिक्लाजुङ गाउँपालिकामा कृषकलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार वितरण गरिएको छ । चालू आर्थिक वर्षको बजेटमा कृषकलाई धान, मकै र आलु उत्पादन गर्नका लागि प्रोत्साहन गर्ने नीतिअनुरूप उत्पादनको अधिकतम मापदण्ड हेरि पुरस्कार प्रदान गरिएको हो ।

प्रदेश नम्बर-१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले पुरस्कृत कृषकहरु लाई एक लाख बराबरको चेक सोमबार गाउँपालिकामा एक कार्यक्रम गरि हस्तान्तरण गरेका थिए ।

कृषकले ४० मुरी धान उत्पादन गरेमा, मकै १० क्विन्टल भन्दा बढी उत्पादन गरेमा र आलु ५० मन उत्पादन गरेमा गाउँपालिकाले प्रति कृषक एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भनिएको थियो । सोही अनुरुप गाउँपालिकामा यो अवधिसम्म ८८ जना कृषक पुरस्कृत भएको भनी गाउँपालिकाका अध्यक्ष अमर माखिमले जानकारी दिए । कोहि कृषकले दुई लाख सम्म पनि चेक बुझेको माखिमले बताएका थिए ।

तोकिएको मापदण्ड अनुसार ४० मुरीभन्दा बढी धान फलाउने कृषक ४२ घर र मकै फलाउने कृषक ४६ घर रहेको र एक करोड भन्दा बढी रकम कृषकहरूले पाएको गाउँपालिकाले जनाएको छ ।

कृषि क्षेत्रमा लागेकोमा गुनासो नभएको र धान र मकै तर्फ बाट दुई लाख रुपैयाँ पुरस्कार पाएको भन्दै क्रषक बलबहादुर भण्डारीले खुशी व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्