मङ्सिर २०, याङ्वरकफोकस / हुम्लाको सिमकोट गाउँपालिका-७ डाँडाफयाको जबुका नजिकै जिप दुर्घटना हुदा चार जनाको मृत्यु र सात जना घाइते भएका छन् ।

हेप्काखोलाबाट बिरामी बोकेर सिमकोट फर्कदै गरेको लु१च २१०२ नम्बरको बलेरो जिप शुक्रबार राती पौने ११ बजे दुर्घटना भएको भनी जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् । सुवेदीका अनुसार जिप सडक बाट ६०० मिटर जतिमा खसेको र घटनास्थलमै चारको मृत्यु भएको र एक बच्चासहित सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नाम्खा गाउँपालिका-१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ, सोही गाउँका ४८ वर्षीय गुरु तामाङ, सिमकोट गाउँपालिका-७ का ३० वर्षीय पर्वत सुनार र सोही पालिका-२ का २९ वर्षीय पारस बोहरा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन् । घाइते सिमकोट-६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट-८ खोल्सिका कल्पना सिंह, सिमकोट-८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट-८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका-१ का झुमझुम लामा, सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह र चालक सिमकोट-२ ठेहेका सिङ्गम भण्डारी रहेका छन् । घाइतेहरु को हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्