मङ्सिर २०, याङ्वरकफोकस / लुम्बिनी प्रदेश सरकारले उद्योगमा युवाहरुलाई आकर्षक बढाउन शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ । प्रदेश सरकारले उद्यमीहरु को लागि  “उद्योगीका साथ प्रदेश सरकार” कार्यक्रम ल्याएको हो ।

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल बैंक लिमिटेडसँग सम्झौता गरि कार्यक्रम अगाडि बढाएको छ । बैंकका लुम्बिनी प्रदेश प्रमुख पासाङ दोर्जी शेर्पा र मन्त्रालयका विभागीय प्रमुख रमेश गौतमले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रदेशमा उद्योग क्षेत्रमा लगानी प्रवर्द्धन गर्न र कोरोना भाइरसको प्रभावले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवाहरु लाई स्वदेशमै रोजगारी प्रवर्द्धन गर्न ब्याज अनुदानमा ऋण उपलब्ध गराएको भनी
मन्त्रालयका सचिव डा. राजेन्द्र केसीले जानकारी दिएका हुन् ।

उक्त सम्झौता पत्र अनुसार वैदेशिक रोजगारबाट फर्किएका, दलित, महिला, द्वन्द्व पीडित, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यकले सञ्चालन गर्ने उद्यमीलाई प्राथमिकता राखी रु तीन लाख देखि रु १० लाखसम्म ऋण उपलब्ध हुने भएको छ । उक्त ऋणमा नेपाल बैंक लिमिटेडले लिने ७.७५ प्रतिशत ब्याज तीन वर्षसम्म प्रदेश सरकारले ब्यहोर्ने भनी सचिव केसीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्