मङ्सिर २४, याङ्वरकफोकस / गए राती भएको यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जीको अन्तिम खेलमा इटालियन क्लब युभेन्टसद्वारा स्पेनीस क्लब बार्सिलोना पराजित भएको छ । आफ्नो घरेलु मैदानमा बार्सिलोना ३-० गोल अन्तरले पराजित भएको हो ।

युभेन्टसको जितमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले २ गोल र अमेरिकी मिडफिल्डर वेस्टन मकेनीले १ गोल गरेका थिए ।

खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र बार्सिलोनाका रोनाल्ड अरौजोले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २० औं मिनेटमा युभेन्टसका वेस्टन मकेनीले गोल गर्दै अग्रता दोब्बर पार्यो । जान क्वाडराडोको क्रसलाई मकेनीले गोल गरेका थिए ।

खेलको ५२ औं मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टस ३-० गोल अन्तरले विजयी भएको हो ।

यस जितसँगै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।
युभेन्टस र बार्सिलोनाको १५ अंक बराबर भएपनी हेड टु हेडमा युभेन्टस शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्