मङ्सिर २७, याङ्वरकफोकस / नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाचौं महासभाले नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौमा आज (सनिवार) आयोजित महासभाले नयाँ १३ सदस्यीय समिति चयन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख अतिथी रहेको उक्त महासभाबाट नाफिजको नयाँ अध्यक्षमा द राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल निर्वाचित भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा रेडियो नेपालका भुवन आचार्य र आर्थिक न्युजका मेनुका कार्की, महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल, सचिवमा अनलाइनखबरका रोयल आचार्य, सहसचिवमा बिजपाटीका महमल अजमत अली र कोषाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारी चयन भएका छन् । सदस्यहरु मा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणीन्द्र दाहाल, बाह्रखरीका रोबिन पौडेल, अनलाइनखबरका नवीन ढुङ्गाना र नेपालखबरका दीपक भट्टलाई चयन भएका छन् ।

संघका निवर्तमान अध्यक्ष सीताराम भट्टराई स्वतः कार्यसमिति सदस्य भएका छन् भने
कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।

महासभाको समापन कार्यक्रममा बोल्दै प्रविधिमन्त्री गुरुङले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आमसञ्चार माध्यमसँग अपिल गरेका थिए । कोरोना भाइरसको कारण ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी भ्रामकभन्दा पनि सत्यसथ्य समाचार प्रकाशन गर्न समेत गुरुङले आग्रह गरे ।

प्रतिक्रिया लेख्नुहोस्