पुष ३, याङ्वरकफोकस / नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप विजेता प्रशिक्षक डेभनेल फ्रेडेरिक (डेभ) वाटमोरलाई बिहीवार नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । वाटमोरलाई एक वर्षका लागि अनुबन्ध गरेको र सम्झौता नवीकरण गर्ने विकल्प समेत रहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताएका छन् ।

पुर्वप्रशिक्षक उमेश पटवालले गत फेब्रुअरीमा नेपालमा भएको आईसीसी विश्वकप लिग २ सिरिजसँगै राजीनामा दिएपछि नेपाल मुख्य प्रशिक्षक विहीन रहेको थियो । यस अवधिमा जगत टमाटाले प्रशिक्षकको भूमिका निभाएका थिए ।

सचीव प्याकुरेलका अनुसार सन २०२१ जनवरीदेखि वाटमोरको सम्झौता लागू हुनेछ । तर क्रिसमस न्यू इयर जस्ता पर्व रहेकाले वाटमोर जनवरी पहिलो साताको अन्तिमसम्म नेपाल आइसक्ने र आर्थिक विषयमा भने अहिले अन्तिम निर्णय हुन बाँकी रहेको प्याकुरेलले जानकारी दिए ।

वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका थिए । पछिल्लो पटक उनी सिंगापुरका प्रशिक्षक समेत थिए । उनकै प्रशिक्षणमा सिंगापुर टी २० विश्वकपको ग्लोबल क्वालिफायरमा समेत पुगेको थियो । उनले आईपीएलमा कोलकता नाइट राइडर्सको प्रशिक्षकको रुपमा समेत काम गरिसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्