काठमाडौँ – पाेष ४ ,काठमाडौँको बूढानीलकण्डका ३३ वर्षीय सुमन रेग्मी प्रहरी हिरासतमा छन् । हिरासत हुँदै कारागारसम्म पुग्छन् कि पुग्दैनन्रु अदालतको आदेशपछि थाहा हुन्छ । तर उनीविरुद्ध लागेको आरोप हिरासतदेखि नै रिहा हुने खालको देखिँदैन । त्यो हो, अश्लील भिडियो र तस्बिर पठाएर ‘ब्ल्याकमेलिङ’।

त्यो पनि आफ्नै प्रेमिकालाई, जोसँग जिन्दगी बिताउने उनको प्रण थियो । उक्त अश्लील भिडियो र तस्बिर तिनै प्रेमिकासँगको शारीरिक सम्बन्ध रहँदा खिचिएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रेग्मीले सोही अश्लील भिडियो र तस्बिर पठाएर ‘ब्ल्याकमेलिङ’ गर्दै ७० लाख रूपैयाँ बार्गेनिङ गरेको पाइएको छ ।

उनीहरूको चिनजान चाहिँ डेढ वर्षदेखिको हो । सामाजिक सञ्जाल फेसबुकमै भएको चिनजानीपछि उनीहरू आपसमा छिट्टै नजिकिए । ‘डेटिङ’ गएको र सोही क्रममा भएको शारीरिक सम्बन्धलाई आफ्ना प्रेमिकाको इन्कारीपछि पनि जबर्जस्ती भिडियो र तस्बिर कैद गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको साइबर ब्यूरोले जनाएको छ ।

तर केही दिनपछि नै युवतीलाई एउटा नयाँ फेसबुक आइडीबाट फ्रेण्ड रिक्वेस्ट आएको र एसेप्ट गर्दा म्यासेन्जरमा आफूसँग सुमनले शारीरिक सम्बन्ध राख्दाको भिडियो र तस्बिर आएपछि उनी झस्किन पुगेको ती युवतीद्वारा प्रहरीमा दायर उजुरीमा उल्लेख रहेको ब्यूरोले जनाएको छ ।

त्यसपछि युवतीले प्रेमी सुमनलाई सोध्दा अनभिज्ञता प्रकट गरेको र भिडियोसँगै अश्लील तस्बिर म्यासेन्जरमा पठाउनेले ७० लाखको ‘बार्गेनिङ’ गरेको पाइएको ब्यूरोका प्रवक्ता तथा एसएसपी नवीन्द अर्यालले बताए ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानको क्रममा युवतीले इज्जतसँग जोडिएको सवाल भएको हुँदा पहिलोपटक २ लाख ४५ हजार रूपैयाँ दिएको र दोस्रोपटकमा ६ लाख ४५ हजार दिएको पनि खुलेको छ ।

दोस्रोपटकसम्म गरी ८ लाख ९० हजार दिइसक्दासम्म भने जुन नामको म्यासेन्जरबाट अश्लील भिडियो र तस्बिर आएको थियो, निष्क्रिय भइसकेको थियो ।

यसले गर्दा ती युवतीले सुमनप्रति नै शंका गरे र परिवारसँगको परामर्शपछि उनले साइबर ब्यूरोमा सुमनविरुद्ध जाहेरी दिइन् ।  अनसन्धान गर्दै जाँदा ब्यूरोले फेसबुक आइडीमा प्रयोग भएको ‘इमेल’ ठेगाना सुमनकै भएको भन्दै सोही आधारमा उनलाई पक्राउ गर्‍यो ।

ब्यूरोका एसएसपी तथा प्रवक्ता अर्यालका अनुसार उनी शुक्रबार काठमाडौँको थापाथलीबाट पक्राउ परेका हुन्। प्रहरीले साइबर अपराधसम्बन्धीको कसूरमा सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया लेख्नुहोस्