पुष ४, याङ्वरकफोकस / पार्टीभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको दूरी घटाउने प्रयास गरेका छन् । प्रचण्डको प्रस्ताव फिर्ता नहुँदासम्म बैठकमै उपस्थित नहुने अडान लिंदै आएका ओली प्रचण्डलाई भेट्न शनिबार प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

छलफलको लागि प्रचण्डलाई बालुवाटार बोलाउने ओली प्रचण्डलाई भेट्नकै लागि पहिलोपटक खुमलटार पुगेका हुन् । ओलि र प्रचण्ड बिच झण्डै एक घण्टा छलफल भएको थियो । ओली र प्रचण्डसँगै पार्टी उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित रहेका थिए ।

छलफलमा कुनै ठोस निष्कर्ष ननिस्किए पनि यसले पार्टीभित्रको विवाद मिलाउन सकारात्मक भूमिका खेलेको नेकपा नेताहरुको भनाइ छ । यसअघि जस्तै शनिबारको भेटमा पनि ओलीले आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिका साथ अघि बढ्न प्रचण्डसँग आग्रह गरेका थिए तर ओलीको आग्रहलाई अस्वीकार गर्दै प्रचण्डले स्थायी कमिटी बैठकमै छलफल गर्नुपर्नेमा जोड दिएको सचिवालयले जनाएको छ ।

ओली र प्रचण्डको सचिवालयले खुमलटारको भेट बालुवाटारमा हुँदै आएको भेटकै निरन्तरता भएको जनाएका छन् । शुक्रबार पनि ओली र प्रचण्डबीच छलफल भएको थियो । स्रोतकाअनुसार शुक्रबार बालुवाटारको छलफल सकेर प्रचण्ड निस्कने बेलामा ओलीले ‘भोलि म तपाईंलाई भेट्न आउँछु’ भनेका थिए ।

प्रचण्डलाई भेटेर फर्किंदा ओली पुल्चोकमा रहेको गृहमन्त्री रामबहादुर थापाको सरकारी निवासमा खुमलटार पुगेका थिए । गृहमन्त्री थापाको निवासमा प्रधानमन्त्री पुगेपछि मन्त्री क्वाटारमा रहेका अरु मन्त्रीहरु पनि उपस्थित भएका थिए ।

त्यहाँ प्रधानमन्त्री ओलीले आफू प्रचण्डलाई भेटेर फर्किएको जानकारी दिएका थिए । तर भेटमा के कुरा भयो भन्ने जानकारी प्रधानमन्त्री ओलिले खुलाएनन् ।

प्रतिक्रिया लेख्नुहोस्