ताप्लेजुङ:- पाैैष ११, ताप्लेजुङमा रहेकाे  प्रसिद्द तीर्थस्थल पाथीभरा मन्दिर नजिकै भीषण डढेलो लागेको छ । फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानीय राजेन्द्र महतले जानकारी दिए ।

डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको महतले बताए । उनले भने, ‘बिहीबार बेलुकादेखि नै आगो लाग्न थालेको रहेछ, हामीले शुक्रबार थाहा पायौं र प्रहरी र स्थानीय भएर निभाएका थियौं, रातिबाट फेरि फैलिएछ ।’ अहिले हावा समेत जोडले चल्न थालेकाले आगो झनै दन्किरहेको पाथीभरा मन्दिर पुगेका तीर्थयात्री कमल विष्टले बताए ।
पाथीभरा मन्दिरदेखि डढेलो लागेको स्थल एक किलोमिटर तल पर्छ। विष्टका अनुसार आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ । आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ । यो रेडपाण्डा पाइने क्षेत्र पनि हो । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मुस्लोसहित आगो दन्किरहेको देखिन्छ ।

आगलागी नियन्त्रणका लागि फुङलिङबाट नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली पठाउने तयारी भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए । यही गतिमा फैलिए आगो फेदीको मानव बस्तीमा समेत आइपुग्ने सम्भावना रहेको महत बताउँछन् । आगो कसले लगाएको हो भन्ने थाहा नभएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्