१५-पुस, २०७७ । आज उधौली पर्व, पूर्वी नेपालका साथै संसार भरी छरिएर वसोवास गर्ने भूमिपुत्र मुलवासी  किरात समुदायमा धुमधामका साथ मनाइदै छ । विशेषगरी लिम्बु समुदायको महान चाड चासोक तङ्नामका रुपमा लिइने उधौलीका दिन विभिन्न स्थानमा मेला लाग्ने गर्दछ ।

हरेक वर्ष मङ्सिर  पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । लिम्बू समुदायमा नयाँ पाकेको अन्नबाली तागेरा निङ्वाफू माङलाई चढाएर मात्र खाने चलन छ । यहि चलन अनुसार चासोक तङ्नामका दिन आफ्नो खेतबारीमा पाकेको नयाँ अन्न धान, कोदो, दाल, भटमास आदिलाई तागेरा निङ्वाफू माङलाई चढाएर न्वागी खाने गरिन्छ । नेपाली भाषामा ‘चासोक’को शाब्दिक अर्थ न्वागी र ‘तङ्नाम’को अर्थ खुसियालीको भेला अर्थात् चाडपर्व भन्ने बुझिन्छ । त्यहि भएर उधौली पर्वलाई न्वागीपूजाभूमिपूजाको नामले पनि पुकारिन्छ । किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको दिन  उभौली(विशेष गरेर राईले)  मनाउने प्रचलन छ । उधौली पर्व भने लिम्बु समुदायमा विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ । चासोक तङ्नामका बेला विभिन्न चूम्लुङहिम लगायतका स्थानमा मेला लाग्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु, याराक (धान नाच), केलाङ (च्याब्रुङ्नाच), पकलुङलेप्मा (छेलो हान्ने), थाक थाक्मा (तान बुन्ने), ली आप्मा (गुलेली हान्ने) लगायतका सांस्कृतिक खेलहरु पनि खेलाइन्छ ।

आजकै दिन फेदाङ्मा(लिम्बू जातिको पुजारी)को सहारामा युमा साम्माङ्, थेवा सम्माङ्, मिसेक, चखोवा, साक्मुरा-फाक्मुरा, थुङ्दाङ्वा लगायत नौ प्रकारका देवीदेवताको पूजाआजा गर्ने चलन पनि रहिआएको छ ।

यसैबीच नेवार समुदायले आज दिनलाई योमरी पुन्हीका रुपमा मनाउँदै छन् । नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरीको अर्थ सबैलाई मनपर्ने रोटी भन्ने हुन्छ । नयाँबालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ । अण्डाकार रुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ ।

प्रतिक्रिया लेख्नुहोस्