पौष १४/ लिम्बु मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । कृषि जीवन शैलीका लिम्बुहरुले ऋतु परिवर्तन सँगै खेतीपाती लगाउने र बटुल्ने समयलाई चाडका रूपमा मनाउँदै आएका छन् । आरुको फूल फुल्न थालेपछि उभौली याम सुरु भएको मानिन्छ भने पैंयु फुलेको यामसँगै खोलानदीमा माछा, आकाशमा चराचुरुङ्गी दक्षिणतिर लागेको ऋतुलाई उधौली याम सुरु भएको संकेतका रूपमा मनाइन्छ । उभौली र उधौली याममा सम्पन्न गरिने चाडपर्व कृषिसँग सम्बन्धित छन् । उधौलीमा परिश्रमको फल- विविध अन्नपात र उपयुक्त हावापानी हुने भएकाले चासोकलाई ‘चासोक तङ्नाम’ -न्वागीपूजा) का रूपमा मनाउने गरिन्छ ।

लिम्बु भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । हङकङ, बेलायत, ब्रुनाइ, सिंगापुर बिदेसिएका लिम्बुहरुले पनि यो पर्व मनाउँदै आएका छन् ।  लिम्बुको ‘मुन्धुम’ मा चासोक पूजाको उत्पत्ति वर्णन पाइन्छ । कृषि युगअघि लिम्बुका आदिम पूर्खा सावायेत्हाङहरू कन्दमुल काँचै खाएर जीवनयापन गर्थे जसले गर्दा कुपोषण र रोग ब्याधिको सिकार हुन्थे । त्यसबाट मुक्ति पाउन उनीहरूले सर्वशक्तिमान तागेरानिङ्वाफुमाङ -प्रकृति) को पूजाआराधना गरे । उनको कृपाबाट पेना/माङदःक् -कोदो), परामा -कोदोसँगै फल्ने बिरुवा), ताक्मारु -घैया धान), तुम्री -जुनेलो), साङ्घामा, लिङ्घामा र लङ्वामा आदि अन्नका बीउविजन प्राप्त भयो । आदिम पूर्खा सावायेत्हाङहरूले प्रकृतिबाट यसरी पाएको बीउविजन तिनका चेली सिवेरा एःक्थुक्मा/सिवेरा यावुङ्केक्माले काठको खन्ती र अङ्कुसेले खोरिया फाडेर भस्मेमा छरिन् । त्यसपछि सावायेत्हाङहरूले खेतीपाती सिके । फलेको अन्न आगोमा पकाएर खान थाले । बल्ल सावायेत्हाङका सन्तानले कुपोषण र रोगब्याधिबाट मुक्ति पाए । खेतबारीमा पाकेको अन्नबाली आगोमा पकाएर खान सिकाउने आफ्नी चेलीदेखि खुसी भई सावायेत्हाङहरूले उनलाई पहिले चढाएपछि मात्र खान पाउने वाचा गरे । यसरी कृषि युगदेखि न्वागी परम्परा बसेको ‘मुन्धुम’ मा उल्लेख छ ।

मानव हित गर्ने चेली सिवेरा एःक्थुक्माप्रति कृतज्ञता व्यक्त गर्न चासोक पूजा गरिदै आएको छ । जंगली देवताका रूपमा ताम्भुङ्ना, लेकमा बस्ने तक्सङ्वा, उत्तरको उच्च पहाडबाट किरात प्रदेशमा गरेकी सिरिजङा वा मुदेनहाङमा -साया मुदेन), दक्षिणको तराईबाट आएकी तेन्छामा, कहिले उत्तर, कहिले दक्षिणतिर घुमी हिड्ने खजमा, पानीमा बस्ने वाजमा, रिसका देवता मिसेक, अन्नबाली उत्पादनमा उचित समयमा घामपानी दिएर बालीनाली राम्रो बनाइदिने थुङ्दाङ्बा – सूर्यदेवता), मातृशक्तिका रूपमा प्रकट भएकी इष्टदेवी युमा साम्माङ, पितृशक्तिका रूपमा प्रकट भएका लिम्बुका आदिपुरुष देवता, थेबा साम्माङ, मानिसलाई बास दिने घर हिम सँम्माङलाई चासोक तङ्नाममा पूजा गरिन्छ ।

चासोक पर्व यो पर्वको सामाजिक महत्त्व भए पनि राज्यले किरात चाडका नाममा ०४८ सालदेखि एक दिनमात्र जातीय बिदा दिने गरेको छ । लिम्बु, राई, याक्खा र सुनुवार जातिले तीन दिनसम्म र्सार्वजनिक राष्ट्रिय बिदा माग्दै आएका छन् । परम्परादेखि घरघरमा चासोक तङ्नाम मनाउदै आए पनि डेढ दशकयता यसलाई आदिवासी जनजाति लिम्बु लगायत चार किरातीले आफ्नै शैलीमा सामूहिक रूपमा सार्वजनिक माङहिम र स्थलमा भेला भई तीन दिनसम्म मनाउन थालेका छन् । उधौली पर्वलाई लिम्बुले चासोक तङ्नाम, र्राईले साकेवा, सुनुवारले फोलष्यांदर र याक्खाले चासुवाका नाममा मनाउ“छन् । लिम्बुको जातीय संस्था किरात याक्थुङ चुम्लुङको पहलमा सामूहिक रूपमा फेदाङ वा तुम्याङहाङहरूका सहयोगले चासोक पूजा गर्न थालेका छन् । यसरी यो पर्व सामूहिक चाडका रूपमा स्थापित हुन थालेको छ । यस अवसरमा भेटघाट गर्ने, मनोरन्जन गर्ने गरिन्छ । यो चाड लिम्बु जातिमा सामाजिक सद्भाव र सम्बन्ध बढाउने माध्यम हुन थालेको छ ।

तङ्नाम अवसरमा विभिन्न सामाजिक र सांस्कृतिक गतिविधि हुने गर्छन् । रिसराग, ईष्र्या बिर्सेर चासोक तङ्नाममा आत्मीयतासाथ लिम्बु दाजुभाइ एवं दिदीबहिनीले भेटघाट र शुभकामना आदानप्रदान गर्छन् । खाद्य परिकार चाम्रे, याङबेन -झ्याउ), सिगोले, फिलिङ्गे र फुदोको अचार, कोदोको तोङ्वा, तीनपाने रक्सी बनाएर खाने गर्छन् । पाहुनाको सेवा सत्कार गर्छन् । चेलीबेटी हुक्वा -आफैले बनाएको शोभित) र अन्य प्रकारको ‘चेसुङ’ -कोसेली) साथ माइतीघर आउनेजाने गर्छन् । युवा सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल ‘पक्लुङ’ -छेलो हान्ने खेल) खेल्नुका साथै सामूहिक रूपमा केलाङ -च्याब्रुङ) बजाएर छुई हा सरलाइमा सर भन्दै नाच्छन् । नाता नपर्ने तरुनी तन्नेरी जातीय पहिरन र गहनामा सजिएर एकआपसमा हात समाउदै माया प्रीतिका गीतलाई पालामको भाकामा स्वर उरालेर ‘यालाङ’ -धाननाच) नाच्छन् । प्रौढ, वृद्धवृद्धा मुन्धुमी साम्लो, हाक्पारे आदि गीत गाएर मनोरन्जन गर्छन् । साम्बा/येमाहरूको उपलब्धताअनुसार एकराते ‘तङसिङ’ पनि यस अवसरमा सम्पन्न गर्ने चलन बढ्न थालेको छ । चासोक तङ्नामले सांस्कृतिक, सामाजिक र धार्मिक महत्त्व बोकेकाले जनजीवनमा यसको अविछिन्न सम्बन्ध रहिआएको छ । यस चाडले जातीय पहिचान र सांस्कृतिक गौरव बढाएको छ भने सामाजिक सद्भाव, एकता र पारस्परिक सहयोगको भावना पनि बढाएको छ।

संकलन /माबोहाङ मोहन

नोट -लिम्बू ईतिहासकारहरुको बिभिन्न लेखहरु बाट संकलन गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्